कृषि तथा वनविज्ञान विश्वविद्यालय पुन: विवादमा, अनुत्तीर्ण भएका छोरीलाई उत्तीर्ण गराएको आरोप ।


चितवन , ९ फागुन । कृषि तथा वनविज्ञान विश्वविद्यालय पुनः विवादमा तानिएको छ । कृषि तथा मत्स्यविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा फेल भएका सीमा जमकट्टेल, अपराजिता ओझा र अनिता भट्टराईलाई पशुविज्ञानको प्रवेश परीक्षामा सर्वोत्कृष्ट बनाइएपछि परीक्षाको मर्यादा र वैधानिकता माथि नै प्रश्न उठेको हो । यसको विरोधमा प्राध्यापकले डिन कार्यालयमा ताला लगाइदिएका छन् ।पशुविज्ञानको परीक्षामा सर्वोत्कृष्ट बनाइएकी सीमा परीक्षा समितिका सदस्यसचिव रहेका सहायक डिन मातृका जमरकट्टेलकी छोरी हुन् । सहायक डिन भर्ना समितिको सदस्यसचिव रहने प्रावधान छ । आफ्ना छोराछोरी वा श्रीमान्श्रीमती र नजिकका नातेदार परीक्षार्थीका रूपमा उपस्थित भएमा समितिमा स्वयं सदस्य सचिवसमेत रहन मिल्दैन । आफ्नै छोरी परीक्षार्थी रहेको पशुविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा सदस्यसचिव समेत रहेका सहायक डिन जमकट्टेल सहभागी भएर अनियमितता गरेको आरोप प्राध्यापक र विद्यार्थी संगठनले लगाएका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालयको डिनको एकतर्फी निर्णयका कारण परीक्षा प्रणालीमै प्रश्न उठेकाले विश्वविद्यालयको गरिमा र विश्वसनीयता मै आँच आएको भन्दै त्यसको विरोधमा डिनको कार्यालयमा तालाबन्दी गरेको हो । यस विषयमा गम्भीर अनुसन्धान गर्नुपर्ने माग प्राध्यापकहरूको छ । आफ्नै बुवाले प्रश्नपत्र तयार गरेको र उत्तरपुस्तिका परीक्षण गरी छोरीलाई सबैभन्दा बढी अंक दिएको विरोध भएपछि विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना प्रक्रिया नै अवरुद्ध भएको छ । परीक्षा समितिमा पशुविज्ञान संकायका सहायक डिन जमकट्टेल, कृषि संकायका सहायक डिन विष्णुराज ओझा र पशुविज्ञान संकायका प्राध्यापक निराजन भट्टराई थिए । सहायक डिन ओझा र प्राध्यापक भट्टराईका छोरीलाई पनि प्रवेश परीक्षामा उत्कृष्ट बनाइएको छ । परीक्षामा सीमाले ७८, कृषिका सहायक डिन ओझाकी छोरी अपराजिताले ७४।७७७ र पशुविज्ञान संकायका प्राध्यापक भट्टराईकी बहिनी अनिताले ७८ अंक ल्याएका छन् । यी तीनै छात्रा कृषि संकायको स्नातकोत्तर र मत्स्य विज्ञान संकायको परीक्षामा असफल भएको आरोप विद्यार्थी संगठनहरूको छ । माघ ५ गते भएको पशुविज्ञानको परीक्षामा १२० जना सामेल थिए । जसमा २५ अनुत्तीर्ण भएका छन् ।
कृषिविज्ञानको प्रवेश परीक्षा मंसिर १ गते भई सोही दिन नतिजा सार्वजनिक भएको थियो । पशुविज्ञान र मत्स्त्यविज्ञानको परीक्षा भने माघ ५ गते भई सोही नतिजा सार्वजनिक भएको थियो । कृषि विज्ञानको परीक्षामा सहभागी ४८१ मध्ये २१३ जना उत्तीर्ण भएका थिए । यस्तै पशुविज्ञानतर्फ ११७ परीक्षार्थी मध्ये ६२ जना सफल भएका थिए । मत्स्यविज्ञानमा भने परीक्षामा सहभागी ४५ मध्ये तीन मात्र उत्तीर्ण भएका थिए । विश्वविद्यालयको परिक्षासम्बन्धी निर्देशिकामा परीक्षा समितिमा विभिन्न संकायका डिनमध्येबाट १, स्नातकोत्तर कार्यक्रम निर्देशक १, विभिन्न संकायका विभागीय प्रमुख ३, प्राध्यापकमध्य बाट २, आर्थिक प्रशासन प्रमुख १, शैक्षिक प्रशासन प्रमुख १, सदस्यसचिव १ र डिनले तोकेको अध्यक्ष १ गरी ११ जना सदस्य रहने उल्लेख छ । प्रजातन्त्रवादी प्राध्यापक संघले राजनीतिक आस्थाका आधारमा विश्वविद्यालयकी पशुविज्ञान, मत्स्यविज्ञान र पशुचिकित्सा संकायकी डिन शारदा थपलियाले आफूखुसी निर्णय गर्दा परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठेको आरोप लगाएको छ । संघले उक्त परीक्षा रद्द गरी फेरि परीक्षा लिनुपर्ने माग गरेको छ । डिन थपलियाले कहींकतै गल्ती भए छानबिन गर्न र सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधान गर्न आफू तयार रहेको बताइन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा प्रणाली बढी विश्वसनीय मानिँदै आएको छ । तर पछिल्लो घटनाले उक्त विश्वविद्यालयको परीक्षा प्रणाली र मर्यादामाथि गम्भीर प्रश्न उब्जाएको छ ।