Breaking News

अन्सारीको नागरिकतामात्र नक्कली नभएर शैक्षिक प्रमाणपत्रपनि नक्कली भएको खुलासा

फागुन ८, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ। अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि समितिले विभिन्न सरकारी निकायमा पत्राचार गरी वास्तविकता बुझ्ने निर्णय गरेको छ।

मंगलबारको बैठकले अन्सारीका शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। अन्सारीको नागरिकताबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं, शैक्षिक प्रमाणपत्रबारे संवैधानिक परिषद् र पार्टी सदस्यताबारे निर्वाचन आयोगलाई वास्तविक विवरण पठाउन पत्राचार गर्ने निर्णय भएको समिति सदस्य योगेश भट्टराईले जानकारी दिए। समिति बैठकमा सांसद भट्टराई, अमृता थापामगर, पूर्णाकुमारी सुवेदी र राजेन्द्र श्रेष्ठले अन्सारीबारे बुझ्न सम्बन्धित निकायबाट थप कागजात माग गर्न प्रस्ताव गरेका थिए।

समितिमा अन्सारीविरुद्ध ४ उजुरी परेका थिए। सबै उजुरीकर्ता बोलाइए पनि एक जना मात्र उपस्थित भएर उनीविरुद्ध बोलेका थिए। अन्सारीको जन्म भारतमा भएको तर उनले नेपालमा नक्कली आमाबुवा बनाएर काठमाडौंबाट नागरिकता लिएको उजुरी समितिमा परेको छ। भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको पहाडपुर थानाग्राममा उनको जन्म भएको उजुरीकर्ताको दाबी छ।

मुस‍्लिम आयोगका अध्यक्षमा सिफारिस समिम अन्सारीका सम्बन्धमा उजुरीकर्ता मंगलबार संसदीय सुनुवाई समिति बैठकमा सहभागी हुँदै। तस्बिर स् अशोक दुलाल

यस्तै अन्सारीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको दाबी गरिएको छ। उनले काठमाडौंस्थित मुस्लिम मदरसाबाट ९ कक्षा मात्र उत्तीर्ण गरेको तर भारतको बिहारस्थित मगध विश्वविद्यालयबाट स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र लिएको उजुरीमा दाबी गरिएको छ। मदरसाबाट ९ कक्षा उत्तीर्ण उनको प्रमाणपत्र तहको सर्टिफिकेटको अवस्था नखुलेको, सन् २००४ मा स्नातकको सर्टिफिकेट लिएका अन्सारीले १४ वर्षपछि ९सन् २०१८० मा मात्र नेपालबाट इक्विभालेन्ट गराएको उजुरीमा उल्लेख छ।

अन्सारीको जन्म भारतमा भए पनि नक्कली आमाबुवा बनाएर काठमाडौंबाट नागरिकता लिएको उजुरी परेको छ।

राजनीतिक दलको सदस्यता लिएको व्यक्ति आयोगमा योग्य नहुने भए पनि अन्सारी सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य रहेकाले आयोग अध्यक्षका लागि अयोग्य रहेको उजुरीकर्ताको दाबी छ। नेकपाको केन्द्रीय सदस्यबाट राजीनामा दिए पनि उनको नाम केन्द्रय सदस्यबाट हटाएको पत्र पार्टीले आयोगमा पठाएको छैन। एक नीजि बैंकको चेक बाउन्स कान्डमा उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको पनि समिति स्रोतले बतायो। समितिले छानबिनको निर्णय गरेपछि उनको संसदीय सुनुवाइ अन्योलमा परेको छ।

समावेशी आयोगमा अध्यक्ष प्रस्तावित पूर्वसचिव शान्तराज सुवेदीको सिफारिसमा सत्तारुढ संघीय फोरमले असहमति जनाएको छ। मंगलबार सुवेदीको सुनुवाइ गरे पनि फोरम सांसद राजेन्द्र श्रेष्ठले असहमति जनाएपछि समितिले निर्णय गर्न सकेन। आयोगमा समावेशी चरित्रको व्यक्ति प्रमुख हुनुपर्ने भन्दै फोरमका श्रेष्ठले असहमति जनाएका थिए। सुवेदीका विषयमा पार्टीमा छलफल गरेर मात्र निर्णयमा पुग्ने धारणा उनले राखेपछि समितिले निर्णय गर्न सकेन।

नेकपाका सुरेन्द्र पाण्डे र पार्वत गुरुङले पनि समावेशी आयोगका लागि सुवेदीको योग्यताबारे प्रश्न उठाएका थिए। सुवेदीसँगै प्राकृतिक वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेलको सुनुवाइ भयो। सुवेदीबारे फोरमले समय मागेपछि पौडेलको पनि सुनुवाइ रोकिएको छ। समिति सदस्य भट्टराईले आगामी ९ गते बस्ने बैठकले सुवेदी र पौडेलबारे निर्णय गर्ने जानकारी दिए।

माघ ७ को संवैधानिक परिषद्को बैठकले मुस्लिम आयोगमा अन्सारी, प्राकृतिक वित्त आयोगमा पौडेल, समावेशी आयोगमा सुवेदी, मधेसी आयोगमा डा।विजयकुमार दत्त र थारु आयोगमा विष्णप्रसाद चौधरीको नाम प्रस्ताव गरी सुनुवाइ समितिमा पठाएको थियो। प्रमुख प्रतिपक्षी कांग्रेसले भने प्रक्रिया मिचेर परिषद्बाट आयोगमा सिफारिस गरिएको भन्दै समिति बैठक बहिस्कार गर्दै आएको छ। आजको अन्नपूर्णबाट ।

sahid diwas