वैदेशिक रोजगारीले निम्त्याएको पीडा : चितवनमा १५४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता ।
प्रनिश थापा , चितवन , ४ फागुन । चितवनमा पछिल्लो समय श्रीमान श्रीमती बीच हुने सम्बन्ध बिच्छेदका घटनाहरुमा वृद्धि हुँदै गएका छन् । कानुनी सहजता तथा महिला तथा पुरुषको जीवनशैलीमा आएको परिवर्तनका कारण सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका हुन् । गएको भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताले महिलालाई सरह पुरुष लाई समेत सम्बन्ध बिच्छेदका लागि सिधैं अदालत जाने बाटो खुल्ला गरेपछि पारपाचुकेका घटनामा वृद्धि भएको हो । गएको भदौ १ गते देखि हालसम्म जिल्ला अदालतमा एक सय ५४ वटा सम्बन्ध बिच्छेदका मुद्दाहरु दर्ता भएकोमा ५३ वटा पुरुषवादी मुद्दा रहेका छन् । चितवन जिल्ला अदालतका सूचना अधिकारी केशवप्रसाद पौड्यालका अनुसार मुलुकी संहिता लागू हुनुपूर्व पुरुषहरुले सिधै अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गराउन पाउँदैनथे । पुरुषहरु समेत महिलाका कारण पीडामा छन् भन्ने आशयले पुरुषले समेत सम्बन्ध बिच्छेदको मुद्दा लिएर सिधै अदालतमा जाने ढोका खुला भएपछि सम्बन्ध बिच्छेदका घटनाहरुमा वृद्धि भएको बताइन्छ । जिल्ला अदालतले टुंगोमा पुर्याएको सम्बन्ध बिच्छेदको मुद्दा फैसलामा पुनरावेदन समेत नलाग्ने पौड्यालले बताए । मुलुकीसंहिता लागू हुनुपूर्व पुरुषहरुले पत्नीसँग सम्बन्ध बिच्छेद गर्न चाहेमा पहिले स्थानीय तहमा निवेदन दिनुपर्ने हुन्थ्यो । स्थानीय तहले धेरै पुरुषवादी मुद्दाहरुलाई सहमतिमा टुंगाउने गरेको तथा सहमति जुट्न नसकेको मुद्दामात्रै अदालती प्रकृयामा पठाइने गरेको थियो । हाल महिला पुरुष दुवैले सोझै अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गराउन पाउने भएकाले सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए । अदालतमा पुग्ने गरेका पारपाचुकेका मुद्दाहरु अधिकांश सहमतिमा सम्बन्ध बिच्छेद गराएर मिलापत्र हुने गरेका पन्तले बताए । अघिल्लो दिन अदालतमा मुद्दा हाल्ने तर भोलिपल्ट हामी सहमति भएर छुट्टिने निर्णय गर्यौँ भन्दै दुवैले निवेदन दिएर अलग बस्ने गरेका पन्तको भनाइ छ । सम्बन्ध बिच्छेदको मुद्दामा पतिपत्नीबीच अलग बस्ने सहमति हुन नसकेमा मुद्दा प्रकृयामा जाने र त्यसको टुंगो लाग्न एक वर्ष लाग्ने कानुनी व्यवस्था भएको पन्तले बताए । महिला र पुरुषबीच उत्पन्न हुने मनमुटाबका कारणले पनि सम्बन्ध बिच्छेदका घटनाहरुमा वृद्धि गरेको पन्तले बताए । स्थानीय तहले जस्तै पतिपत्नीलाई मिलेर बस्नका लागि अदालतले कर नगर्ने र कानुनी प्रकृयामा गएर मुद्दाको टुंगो लगाउने गरिएको पन्तको भनाइ छ । अदालतमा पुगेका अधिकांश पारपाचुकेका मुद्दाहरु पतिपत्नी बीचको सहमतिमा सम्बन्ध बिच्छेद गराएर टुंगो लाग्ने गरेको पन्तको भनाइ छ । महिलाहरुको सशक्तिकरण हुनु, आर्थिक हैसियतमा वृद्धि हुनु तथा लोग्ने स्वास्नी टाढा हुँदा अन्य व्यक्तिसँग सम्बन्ध बढ्नुका कारण सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएको चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमलराज पाठकले बताए । महिला पुरुष दुवै आत्मनिर्भर हुने चाहनाले समेत सम्बन्ध बिछेदका घटनाहरु बढ्दै गएका पाठकको भनाइ छ । बिशेषत स् वैदेशिक रोजगारका कारणले मानिसले विकल्पहरु खोज्दै जाँदा सम्बन्ध बिच्छेदका घटनाहरु बढेका पाठक बताउँछन् ।