चितवन प्रहरीको सक्रियता : १६ थान कौडा सहित २३ जुवाडे पक्राउ ।

प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले १६ थान कौडा सहित २३ जना जुवाडेलाई गएराती पक्राउ गरेको छ । गएराती साँढे एघार बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर एघार भोजाडस्थित छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने तीन नम्बर प्रदेश प्रहरी कार्यालयबाट आएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक चिनीमाया गुरुङको कमान्डमा खटी गएको टोलीले भरतपुर महानगरपालिका एक भोजाड बस्ने जुवाडे नाइँके बोधे भन्ने बहादुर पौडेल सहित २३ जनालाई पक्राउ गर्न सफल भएका हुन् ।

प्रहरीले उनीहरुको साथबाट नगद ९ लाख ३२ हजार ८१३ रुपैयाँ समेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा गोर्खा, तनहुँ र चितवनका रहेका छन् । ती मध्य गोर्खाका मात्रै ९ जना रहेको चितवन प्रहरी प्रमुख सुशील सिंह राठौरले बताए । राठौरका अनुसार उनीहरु पेशेवर रूपमा कौडा खेल्ने गरेको अनुसन्धान बाट खुलेको प्रहरीले बताएको छ । पटके भनिएका जुवाडे पौडेल चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरलाई प्रलोभनमा पार्न खोजेको आरोपमा गत, जेठ दोस्रो साता हिरासतमा बसेका थिए भने, गैंडाकोटमा समेत कौडा खेलाउदा खेलाउदै पक्राउ परेका थिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको र उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको प्रमुख राठौरले बताए । तिहारको अवधिमा १२० भन्दा बढी जुवाडे पक्राउ गरेको चितवन प्रहरीले तिहार पछिको यो दोस्रो ठूलो जुवा भएको बताइएको छ ।