सम्मान थाप्न जाँदा दैनिक भ्रमण भत्ता लिन्छन् संघीय संसद्का मुख्य पदाधिकारीहरू
पदाधिकारीसँगै गएका सचिवालयका कर्मचारीको खर्च भने लुकाइयो
राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएपछि सम्मान थाप्न गत चैतमा पर्वत पुगेका गणेशप्रसाद तिमल्सिना । तस्बिर : फेसबुकबाट
मकर श्रेष्ठ/माघ १७, २०७५ / काठमाडौँ / संघीय संसद्का मुख्य पदाधिकारीहरूले आफ्नो गृह र अन्य जिल्लाका विभिन्न कार्यक्रम उद्घाटनमा जाँदासमेत दैनिक भ्रमण भत्ता लिइरहेका छन् । सूचनाको हक प्रयोग गरी संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा भत्ता लिएका हुन् ।
भ्रमणमा जाने निजी सचिवालयका कर्मचारीलाई उपलब्ध गराएको भत्ता र अन्य खर्चको जानकारीसमेत माग गरिएकामा ती विवरण भने सचिवालयले दिएन ।
राष्ट्रिय सभाका अध्यक्षमा निर्वाचित भएपछि गणेशप्रसाद तिमिल्सिना चैत ५ गते गृह जिल्ला पर्वत गए । उनलाई जिल्लामा विभिन्न स्थानमा स्वागत कार्यक्रम राखिएको थियो । दुई दिनपछि फर्किए । अध्यक्ष चुनिएको खुसी साट्न जाँदा उनले संघीय संसद्बाट दैनिक भ्रमण भत्ताबापत ६ हजार ७ सय ५०, जहाज भाडा ९ हजार ९ सय रुपैयाँ बुझे ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ९ मा संघीय संसद्को कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमणमा जाँदा मात्रै पदाधिकारीलाई दैनिक भ्रमण भत्ता दिने व्यवस्था छ । पदाधिकारीले दैनिक भम्रण भत्ता लिएर काठमाडौं बाहिर गएका कुनै पनि कार्यक्रम संसद्को कामसँग सम्बन्धित छैन ।
सभामुख कृष्णबहादुर महरा असोज २२ देखि २८ सम्म निर्वाचन क्षेत्र दाङमा गए । यसबापत उनले दैनिक भ्रमण भत्ता ९ हजार ७ सय ५०, जहाज खर्च ६ हजार २ सय लिएका छन् । उपसभामुख शिवमाया तुम्बाहाम्फे र उपाध्यक्ष शशिकला दाहालले पनि जिल्ला भ्रमण भत्ता लिँदै आएका छन् ।
सचिवालयले उपलब्ध गराएको विवरणअनुसार अध्यक्ष तिमिल्सिनाले चैत ५ देखि पुस ६ सम्म भ्रमण भत्ता, जहाजको टिकट र इन्धन खर्चबापत २ लाख ४१ हजार ४ सय ९४ रुपैयाँ बुझेका छन् । यसमा दैनिक भ्रमण भत्ता मात्रै १ लाख ४६ हजार २ सय ७० रुपैयाँ छ । तिमिल्सनाले धारा उद्घाटनदेखि कारागार निरीक्षण गर्न जाँदासमेत भत्ता लिएका छन् । यसमा उनीसँगै गएका सचिवालयका कर्मचारीको खर्च समावेश छैन ।
सभामुख महराले असार ५ देखि पुस ९ सम्म दैनिक भ्रमण भत्ता, जहाज भाडा, इन्धन खर्चसहित ३ लाख ८ हजार रुपैयाँ खर्च लिएका छन् । यसमा दैनिक भ्रमण भत्ताबापत ७२ हजार, जहाज भाडा ८६ हजार, इन्धन खर्च १ लाख ४९ हजार संसद् सचिवालयबाट लिएका छन् । भत्ता लिएर उनी १४ दिन दाङ गए भने पोखरामा ३, रोल्पा ६, चितवन ३, उदयपुर २ दिन बिताए ।
दाहालले चैत १७ देखि मंसिर १७ सम्म दैनिक भ्रमण भत्ता, जहाज भाडा र इन्धन खर्चबापत २ लाख ५६ हजार रुपैयाँ लिएकी छन् । यसमा दैनिक भ्रमण भत्ताबापत १ लाख ५७ हजार, जहाज भाडाबापत ४२ हजार र इन्धनबापत ५५ हजार ८ सय रुपैयाँ छ । गृह जिल्ला महोत्तरी जाँदा मात्रै ४४ दिनको भत्ता लिएकी छन् ।
तुम्बाहाम्फेले चैत २२ देखि कात्तिक १५ सम्म २ लाख १८ हजार २ सय ७० रुपैयाँ लिएकी छन् । गृहजिल्ला मोरङ जाँदा मात्रै ६६ हजार ७ सय ५० रुपैयाँ दैनिक भ्रमण भत्ता लिएकी छन् । उपसभामुख भएपछि पहिलो पटक उनी चैत २२ मा गृह जिल्ला मोरङ जाँदा पनि भत्ता लिएकी छन् ।
सभामुख महरा संविधान र संघीयता कार्यान्वयन विषयक अन्तक्र्रिया कार्यक्रम उद्घाटन गर्न मंसिर ८ मा गाईघाट गएका थिए । पोखरामा कात्तिक ९ मा पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता उद्घाटन गर्न र रोल्पा–पोखरा सम्पर्क समाजको पोखरामा निर्माणाधीन भवन अवलोकन गर्न जाँदा पनि भ्रमण भत्ता लिए । महरा पुस ७ मा रोल्पाकै बालकल्याण माविका पूर्वविद्यार्थीको भेला उद्घाटन गर्न गएका थिए । उनी यो विद्यालयका पूर्वशिक्षक र विद्यार्थी पनि हुन् । यहाँ जाँदा महराले दैनिक भ्रमण भत्ताबापत ४ दिनको ६ हजार भ्रमण भत्ता, जहाज भाडा १२ हजार ४ सय ७० र इन्धन खर्च ५० हजार १ सय ४७ लिएका छन् ।
असोज २२ देखि २८ सम्म दाङ गएका बेला उनी रिपोर्ट्स क्लब दाङको ८ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह र १५ शय्याको अस्पताल स्थापना घोषणा कार्यक्रम कार्यक्रममा सहभागी भए । यस अवधिमा पनि उनले भत्ता र तेल खर्च लिए । उनी साउन ८ मा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस भवन शिलान्यास गर्न, ९ साउनमा दाङको तुलसीपुरमा श्रद्धाञ्जली कार्यक्रममा र सहिद परिवार तथा जनताका माग र गुनासा सुन्न गएका थिए । तुलसीपुरस्थित निर्माणाधीन बसपार्क अवलोकन गर्न जाँदा, जनकल्याण मावि दुधरासमा इन्जिनियरिङ कलेज भवन शिलान्यास गर्न, दाङको बेलझुन्डीस्थित रंगशाला शिलान्यास गर्न जाँदा पनि भत्ता लिए ।
कात्तिक ३० मा दमौली, तनहुँको व्यास गुफा अवलोकन, तेस्रो आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव उद्घाटन गर्न कात्तिक ३० मा गए । यसबापत भत्ता मात्रै ६ हजार ७ सय ५० रुपैयाँ बुझेका छन् । इन्धन खर्च ३० हजार ८ सय ५६ रुपैयाँ लिएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गृहजिल्ला पर्वत गएको दिनलाई समेत सचिवालयले उपलब्ध गराएको विवरणमा कास्की गएको भनेर झूटो विवरण उपलब्ध गराएको छ । कास्की गएको भनिएको ५० दिनको विवरणअनुसार ती दिनमा उनले दैनिक भत्ता र जहाज भाडा लिएका छन् ।
तिमल्सिनाले मंसिर ८ गते पर्वतको होस्राङी खानेपानी तथा सरसफाइ योजना उद्घाटन गरेका थिए । सचिवालयले उनको ढाकछोप गर्दै उनी कास्की गएको विवरण उपलब्ध गराएको छ । वैशाख ६ मा विभिन्न विद्यालयका ५ विद्यार्थीलाई भर्ना गर्दा अभिभावकत्व ग्रहण गरेका थिए । पर्वत जाँदा उनले भत्ताबापत ९ हजार ७ सय ५०, जहाज भाडा ९ हजार ९ सय रुपैयाँ बुझेका छन् ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पदाधिकारीलाई नियमअनुसार पाउने सुविधा उपलब्ध गराइएको बताए । ‘विशिष्ट पदाधिकारीले पाउने सुविधाअनुसारै उपलब्ध गराइएको भत्तालाई नियमविपरीत भन्न मिल्दैन,’ उनले दाबी गरे ।