द्वन्द्वकालमा मारिएका सबै सुरक्षाकर्मीलाई सहिद घोषणा


काठमाडौं–सरकारले दशबर्षे माओबादी र अन्य द्वन्द्वको क्रममा मारिएका २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ ।

गत् सोमबार मन्त्रिपरिषद्को बैठक बसी नेकपा नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो ।जसअनुसार सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो ।
आज मंगलबार सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २८०७ जनालाई सहिद घोषणा गरेको जानकारी गराएका हुन् ।
देशका लागि ज्यान दिनेहरुका परिवारमा जुन असमानता थियो त्यो असमानता सोमबारको क्याबिनेटको निर्णयसँगै हटेको भन्दै प्रधानमन्त्री ओलीले राज्यले सबैलाई समान व्यवहार गर्ने बताए ।
समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र प्रहरीको सीमावर्ती जिल्लाका गणहरुको स्तरबृद्धि गर्दै बोर्डर वाउटपोस्टको संस्था बढाइने जानकारी दिए । यस्तै १७ जिल्लामा रहेका अस्थायी गणलाईस्थायी गरिने पनि उनले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा पूर्वआईजीपी दुर्जकुमार राई र पूर्वएआईजी रोहित थापालाई एपीएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरियो ।

यस्तै कृष्णमोहन श्रेष्ठ र सहवीर थापालाई मरणेपरान्त सम्मान गरियो भने ५ नम्बर बाहिनी मुख्यालय रुपन्देहीलाई उत्कृष्ट बाहिनीको अवार्ड दिइयो । सो अवार्ड डीआईजी चिरन्जीवी अधिकारीले ग्रहण गरेका थिए ।
यस्तै सोही कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई पनि सम्मान गरिएको थियो ।