Breaking News

खेलकुदलाई पहिलो प्राथमिकतामा राख्छौँ : नगर प्रमुख पौडेल

आनन्द पोखरेल/नवलपुर, १२ माघ/गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा नियमावली बनाउने बताएका छन् ।
संघ र प्रदेशले शिक्षा नियमावली निर्माण गरेपछि नगरमा बनाउने शिक्षा नियमावलीमा खेलकुदको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नियमावली बनाउने पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा आज आयोजना गरिएको पाँचौँ जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता एवम् खेलाडी सम्मान कार्यक्रममा पौडेलले विश्व जगतमा खेलकुदको माध्यमबाट खेलाडीहरुले राष्ट्रको नाम राख्न सफल भएको बताए । खेलाडीहरुले राष्ट्रलाई चिनाउनुका साथै खेलको माध्यमबाट स्वअनुशासन समेत कायम गर्न सफल भएका पौडेलको भनाइ छ ।
राष्ट्रिय तेकवान्दो संघ नवलपुरले आयोजना गरेको सो कार्यक्रममा नगर प्रमुख पौडेलले तेकवान्दो संघलाई तेकवान्दो खेल्न आवश्यक पर्ने म्याट समेत प्रदान गरेका छन् । करिब एक लाख ७८ हजार रुपैयाँ पर्ने ८१ थान म्याट नगर प्रमुख पौडेलले संघका सचिव हरि थापालाई प्रदान गरेका हुन् । म्याट प्राप्त गरेसँगै आफूहरुलाई खेलकुदका गतिविधि गर्नका लागि सहजता थपिएको राष्ट्रिय तेकवान्दो संघ नवलपुरका अध्यक्ष कुसुम सुवेदीले बताए ।
कार्यक्रममा तेकवान्दो खेलामा अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका जिल्लाका खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । विभिन्न देशमा भएको अन्तर्राष्ट्रिय तेकवान्दोमा पदक जित्ने तेकवान्दोका नौ जना खेलाडीलाई गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलसहितका व्यक्तिहरुले सम्मान गरेका हुन् । सो कार्यक्रममा जिल्लाका विभिन्न डोजाङका खेलाडीहरुले तेकवान्दोको डेमोस्टेशन समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय तेकवान्दो संघका केन्द्रीय अध्यक्ष शिव पौडेल, उपाध्यक्ष ध्रुव गुरुङ, महासचिव राजकुमार कार्की, राष्ट्रिय तेकवान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठलगायतले नेपालले छोटो समयमा नै तेकवान्दो क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको बताए । राज्यले खेलकुदको क्षेत्रमा थप लगानी गर्नु अवाश्यक रहेको उनीहरुको भनाइ थियो ।

sahid diwas