चितवनमा चेपाङ्ग वालिकाको बर्बरतापूर्ण बलात्कार , बलात्कारी भने फरार !

चितवन माघ ७ । चितवनको राप्ती नगरपालिका वडा नं १३ को धादिङ जिल्लासंगको सिमा जोडिएको पहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणी भएको छ । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ ।

दुई बालिका माघ ६ गते विहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए । दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जंगल र भीरको बाटोबाट हिंडिरहेको मौका छोपी दुईमध्ये १६ वर्षकी बालिकालाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए ।

आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा अङ्गभङ्ग हुनेगरी लाठीले हानेर लखेटी अर्की बालिकालाई समातेर राखेका थिए । जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती बेसहारा बालिकालाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाई बलात्कारपछि जंगलमा छाडेर अपराध गर्ने युवक फरार भए ।

घाइते अवस्थामा आतंकित हुँदै घर पुगेकी १० वर्षीया बालिकाले घटनाबारे बताएपछि खोजतलासमा गएका अभिभावकहरूले बलात्कृत बालिकालाई दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा फेला पारेका थिए ।
उनीहरूले घटनास्थलबाट उद्धार गरिएकी ती बालिका र भागेर घर पुगेकी अर्की घाइते बालिकालाई राति अबेर भण्डारा मलेखु चेपाङ मार्गसम्म ल्याइपुर्याए ।

त्यहाँबाट इलाका प्रहरी कार्यालय भण्डारा, चितवनको सहयोगमा उपलब्ध गाडीमा राखी कान्देश्वरी आधारभूत विद्यालय राप्ती नगरपालिका९१३, चितवनका प्रधानाध्यापक बालकृष्ण थपलिया, पीडित बालिकाका अभिभावकहरू र प्रहरीको टोलीले राति २ बजे दुवै बालिकालाई भरतपुर अस्पताल ल्याइएकोे हो ।

कुटपिटबाट टाउको फुटेका र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका दुवै पीडितको उपचार अस्पतालमा चलिरहेको छ । एउटी बालिका बर्बरतापूर्ण बलात्कारबाट विक्षिप्त अवस्थामा छिन् भने अर्की बालिकाको एउटा हात नचल्ने अवस्थामा छ ।
यसैविच, फरार अभियुक्तको खोजीकार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।