सकियो चितवन महोत्सव ,२५ करोडभन्दा बढीको आर्थिक कारोबार
चितवन युरोप अमेरिकाजस्तै लाग्छ : मुख्यमन्त्री
प्रमिता ढकाल /भरतपुर, ५ माघ/१२ औं संस्करणको चितवन महोत्सवमा २५ करोडभन्दा बढीको आर्थिक कारोबार भएको आयोजकको दावी छ । गत पुस २५ गतेदेखि सुरु भएको महोत्सव अर्थतन्त्रमा ठूलै तरंग फैलाउन सफल भएको आयोजकले बताएको छ ।
१२ औं संस्करणको चितवन महोत्सव लक्षित अवलोकनकर्ता भन्दा बढीले अवलोकन गरी सफल सावित गरिदिएको महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानले बताए । उनका अनुसार महोत्सवको पाँच लाख दर्शकले अवलोकन गरेका छन् । महोत्सव सचिवालयले गरेको अध्ययन अनुसार ८५ प्रतिशत अवलोकनकर्ता प्रदर्शनीबाट सन्तुष्ट रहेको उनले बताए ।
उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनले संयुक्तरुपमा आयोजना गरेको १२ औं चितवन महोत्सवको शुक्रबार एक समारोहबीच समापन गरिएको छ । महोत्सवको समापन समारोहमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथि थिए । मुख्यमन्त्री पौडेलले चितवन महोत्सवलाई राष्ट्रियस्तरको महोत्सव बनाउन लाग्नुपर्ने बताए । उनले चितवन पर्यटनको भूमि भएको भन्दै महोत्सवले चितवनको थप पर्यटन विकासमा टेवा पुगेको प्रष्ट पारे ।
समापन कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी, नेकपा चितवनका नेता यमबहादुर परियार, नेपाली कांग्रेस चितवनका नेता रामकृष्ण घिमिरे, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समापन समारोहमा महोत्सवमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मूल आयोजक समितिका सदस्यसचिव चुननारायण श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट प्रर्दशकहरुलाई समेत सम्मान गरिएको छ । १२ औं संस्करणको चितवन महोत्सवलाई नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी पर्यटन गतिविधिमा जोड दिइएको थियो ।
महोत्सवको उद्घाटन समारोहमा चितवनका पर्यटकीय ५० गन्तव्यको अवस्था र विशेषता देखिने तस्विरसहितको नेपाली र अंग्रेजी भाषामा ‘गाइड बुक’ सार्वजनिक गरिएको छ । गाइडबुकले पर्यटकलाई चितवनबारे उत्सुकता बढाउने र चितवन आउन लालायित गराउने विश्वास लिएको संयोजक प्रधानले बताए । पर्यटकीय गतिविधिअन्तर्गत जलयात्रा, जिप सफारी, बिच भलिबलजस्ता आकर्षण थपिएका थिए ।
महोत्सव परिसरदेखि नगर वनसम्म सञ्चालित जिप सफारीले नारायणगढ बजार वरपर पार्क तथा वन्यजन्तुको बासस्थानले पर्यटक लोभ्याउन सक्ने सम्भावना उजागर गरेको छ । महोत्सवमा अवलोकनकर्ताको आकर्षण बढाउन यसपटक देश विदेशका विभिन्न स्थानमा पाइने जनावरका मूर्तिहरुको कृत्रिम चिडियाखाना, माछाको कलात्मक मूर्ति पर्यटकीय आकर्षण बढाउने प्याकेज बने ।
पुस २५ देखि माघ ४ गतेसम्म चलेको महोत्सवमा शिक्षा, ऊर्जा, पर्यटन, महिला उद्यम, साहित्यजस्ता विविध विषय समेटेर कूल ८ वटा गोष्ठी आयोजना गरिएका थिए । यस्तै पुस २८ देखि माघ २ गतेसम्म क्याम्पाचौरमा फूड फेस्टिबल आयोजना गरिएको थियो । टेस्ला एअर कण्डिसनले मुख्य प्रायोजन गरेको महोत्सवमा यसपालि ५ सय ७० वटा स्टल थिए । महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, पोल्ट्रीको छुट्टै परिसर थिए । अघिल्ला संस्करणहरुभन्दा धेरै स्टल भएकाले परिसर विगतमा भन्दा फराकिलो बनाइएको थियो । चितवन युरोप अमेरिकाजस्तै लाग्छ : मुख्यमन्त्री
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल चितवन जिल्ला सबै प्रकारका सम्भाव्यता र विकासले भरिपूर्ण रहेको बताएका छन् । चितवनको खेतीयोग्य जमिन, कृषिका सबैथरिका उत्पादन, पर्यापर्यटन, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य अन्य जिल्लाको लागि नमूनाका रुपमा देखाउन सकिने उनले बताए ।
“प्रदेश ३ अन्तर्गत अन्य जिल्लाको तुलनामा चितवन आइपुग्दा युरोप अमेरिका गएजस्तो लाग्छ”, मुख्यमन्त्री पौडेलले, “यहाँ अब कस्ता खाले योजना आवश्यक छ खाका ल्याउनुहोस्, प्रदेश सरकार काम गर्न लालायित छ ।” चितवनमा संस्थागत निजी साझेदारी कार्यक्रमका लागि कार्यक्रम ल्याउन उनले आग्रह गरे । टुक्रे योजनाभन्दा बृहद् योजना सरकारको प्राथमिकतामा पर्ने उनले जोड दिए ।
प्रदेश सरकार गठन भएको ११ महिना बितिसक्दा जनताको अपेक्षाकृत सबै काम पूरा गर्न नसकेपनि धेरै काम भएको उनले उल्लेख गरे । आम सर्वसाधारणको आशा र भरोसा कायम गर्ने उद्देश्यले आफू लागिपरेको उनको भनाइ छ । “मलाई व्यक्तिगत हितका लागि कसैसँग केही लिनु छैन कसैलाई केही दिनु छैन”, मुख्यमन्त्री पौडेलले भने, “दैनिक १८ घण्टा खटिएर जनताको चाहनाअनुरुप काम गर्न म प्रतिबद्ध छु, रहिरहनेछु ।”
समापन समारोहका लागि चितवन आएका मुख्यमन्त्री पौडेलले चितवन महोत्सवलाई राष्ट्रियस्तरको महोत्सव बनाउनका लागि लाग्नुपर्ने बताए । चितवनमा आर्थिक कारोबार वृद्धि गर्न, पर्यटक भित्राउन महोत्सव सफल रहेको भन्दै राष्ट्रियस्तरको महोत्सवको रुपमा अगाडि बढाउन अनुरोध गरे । महोत्सवले चितवनको पर्यटन विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।