हुण्डी कारोबार गर्ने सहकारी अध्यक्ष पक्राउ

बिराटनगर, २ माघ । प्रदेशको अस्थायी राजधानी विराटनगरमा पछिल्लो समय उद्योगी व्यापारीकै संलग्नतामा हुण्डीको कारोबार फस्टाएको पाइएको छ । यस क्षेत्रका कतिपय सहकारीहरु नै अवैध हुण्डी कारोबारमा संलग्न रहेको फेला परेको छ ।

मोरङ प्रहरीले हुण्डीको कारोबार गर्ने विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेश हेडा, व्यवस्थापक दीपककुमार कर्णसहित तीन जनालाई गत आइतबार पक्राउ गरेपछि यसको खुलासा भएको हो । पक्राउ परेका हेडाको संलग्नता विराटनगरकै उद्योगी व्यापारीसँग रहेको समेत खुलेको छ ।

गत आइतबार मोरङ प्रहरीले सहकारी अध्यक्ष विराटनगर–७ का हेडासहित व्यवस्थापक विराटनगर–१२ का कर्ण, विराटनगरका ११ का सुमित साहलाई पक्राउ गरेको छ । पैसाको स्रोत खुलाउन नसकेपछि अध्यक्ष र व्यवस्थापकसहित ६९ लाख ५७ हजार ६ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले पत्रकार सम्मेलन नै गरेर जानकारी दिएका थिए ।

‘बरामद गरेको अवैध पैसा हुण्डी कारोबार गर्ने गरेको स्वयम् सहकारीका अध्यक्ष हेडाले स्वीकारेका छन्’, एसपी केसीले भने, ‘बरामद भएको नेपाली रुपैयाँ सम्बन्धित ठाउँमा लैजाने तयारी गर्दा जफत गरिएको हो ।’

सहकारीका अध्यक्ष राजेश हेडाले पक्राउ परेको रकम हुण्डीका लागि भएको स्वीकार गरेपछि प्रहरीले अब यससँग सम्बन्धित उद्योगी व्यापारीको खोजी पनि तीव्र पारेको छ । पक्राउ परेका हेडा मुख्य हुण्डी कारोबारी रहेको प्रहरीले बतायो ।