खैरहनीमा छैटौँ खिचरा महोत्सव २०७५ सुरू


होमनाथ सापकोटा/ खैरहनी । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रक्रिया पु¥याएर निर्मला पन्तको हत्यारा सार्वजनिक गर्ने बताएका छन् ।

पूर्वी चितवनको खैरहनीमा शनिबारबाट सुरू छैटौं खिचरा महोत्सवको उद्घाटन गर्दै उनले निर्मलाको बलात्कारपछि हत्या गर्ने केही व्यक्तिलाई पक्राउ गरिसकेको र उनीहरुलाई छिट्टै सार्वजनिक गर्ने बताएका हुन् । ‘केही व्यक्तिहरु पक्राउ गरिएको छ’ उनले भने ‘विधिसम्मत ढंगले अपराधी सार्वजनिक गर्छौं ।’

बलात्कार र हत्यामा संलग्न कोही पनि उम्कन पाउँदैन उनले भने ‘उनीहरुलाई कानुनबमोजिम कारबाही हुनेछ’ । सबै कुराको विधि र प्रक्रिया हुने भन्दै उनले नागरिकको चित्त बुभ्mने तरिकाले निर्मला पन्तको हत्यारालाई कारबाही हुने उनको भनाइ छ ।
प्रतिपक्ष दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरबाट कुनै पनि अपराधी उम्कन नसक्ने उनले बताए ।

रक्षामन्त्री पोखरेलले सरकारले विकास निर्माणभन्दा पनि कानुन निर्माणमा ध्यान केन्द्रित गरेको बताए । ‘संसद्ले ३३९ वटा कानुन बनाउनु पर्नेछ’ उनले भने ‘अहिलेसम्म २६ वटामात्र कानुन बनेका छन्, सबै कानुन बनाएर विधि र प्रक्रियामा राज्य चलाउने ध्यानमा सरकार रहेको छ । उनले सबै कानुन बनिनसकेकाले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

‘चैत महिनाभित्र सबै कानुन बन्छन्’ उनले भने ‘त्यसपछि सरकारको एजेन्डावाईज काम सुरू हुन्छ ।’ कम्युनिष्टले नक्कली बहुमत ल्याएको नभई देश र जनताको पक्षमा काम गर्न सक्कली बहुमत ल्याएको उनको भनाइ थियो । मुलुकको हित नचाहनेहरुले जातीय सद्भावमा आगो सल्काउन लागीपरेको रक्षामन्त्री पोखरेलले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले निकुञ्जको छेउछाउमा बसोवास गर्ने स्थानीयलाई जंगली जनावरको आक्रमणबाट जोगाउन निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाउने काम अबको केही दिनमा सुरू हुने बताए ।

कार्यक्रममा डा।सञ्जय चौधरी, थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का संस्थापक सभापति नारायणप्रसाद चौधरी, संस्थापक सचिव दिलीप महतोलाई सम्मान र खैरहनी ५ का वडाध्यक्ष स्वर्गीय विश्वविजय बस्नेतलाई मरणोप्राप्त सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सांसद् कृष्णप्रसाद खनाल, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी, नेता जोखा चौधरी, स्वागत तथा सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीलगायतले मन्तव्य राखेका थिए ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयोजनामा खैरहनी ५ गौचरनमा महोत्सव सुरू भएको हो । महोत्सवमा १५० वटा व्यावसायिक स्टल, २२ वटा थारुका खानाका परिकार र १८ वटा थारु संस्कृतिसँग जोडिएका स्टल गरी २०० वटा स्टल रहेको मूल आयोजक समितिका संयोजक चूडामणि चौधरीले जानकारी दिए ।

महोत्सव परिसरभित्रै थारु खानाका परिकार घोँगी, चिचर, माछालगायत अन्य परिकारका स्टल रहेका छन् । थारु समुदायको रहनसहन र र जीवनयापनका बारेमा महोत्सवमै हेर्न सकिने गरी यस वर्ष थारु मिनी गाउँ तयार गरिएको छ । मिनी गाउँमा थारु समुदायले प्रयोग गर्ने ढिकी, जातो, तेल पेल्ने कोल, पूजापाठ गर्ने मन्दिर ९ब्रम्हस्थान० बनाइएको संयोजक चौधरीले बताए ।

मिनी गाउँसँगै महोत्सवमा विभिन्न खेलका प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्लो साइकल रेसलगायतका कार्यक्रमहरु समावेश गरिएको छ । महोत्सव अवधिमा राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुति रहने आयोजकले बताएका छन् ।

महोत्सव सम्पन्न गर्न करिब ४० लाख रूपैयाँबराबर खर्च हुने र करिब एक करोडबराबरको कारोबार हुने अनुमान गरिएको छ । उद्घाटन कार्यक्रम मूल आयोजक समितिका संयोजक चौधरीको अध्यक्षतमा भएको थियो । महोत्सव उद्घाटनपूर्व बिहान खैरहनीमा शोभायात्रा निकालिएको थियो । चितवन पोष्ट