‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन ।


चितवन , २८ पौष । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवमा आयोजना गरेको ‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन गरिएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको चितवन महोत्सव–२०७५ का संयोजक सहनलाल प्रधान र नेपाली युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष निर्देश सेढाईले संयुक्तरुपमा समुद्घाटन गरेका हुन् । १२ औं संस्करणको चितवन महोत्सवमा यसका लागि छुट्टै पेभेलियन व्यवस्था गरिएको छ । जसमा २२ स्टल रहने मञ्चका अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिए । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताए । नेपाली युवा उद्यमी मञ्चले ‘आफ्नो भनेको आफ्नै हो’ नारासहित प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको सातौं संस्करण चितवनमा आयोजना गरिएको हो । यो परिसरमा २२ स्टल छन् । नेपालमै उत्पादित माइनस ३ सय २१ डिग्रीमा बन्ने आइसक्रिम, कंक्रिटका वस्तु, मार्वल, फलामका झ्यालढोका, स्टिलका उत्पादन, पेन्ट्स, गार्मेन्ट, जुस, काठका सामान, प्लाष्टिकका उत्पादनजस्ता स्तरीय नेपाली उत्पादनलाई मेड इन नेपालले समेटेको छ । यता, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष एवं महोत्सव मूल संयोजक सहनलाल प्रधानले नेपाली उद्योगका उत्पादन तथा सेवा प्रयोग गर्न आम उपभोक्तालाई सचेत गराउने उद्देश्य प्रशंसनीय भएको बताए । मेड इन नेपाललाई एसियन कंक्रिटो नेपालले मुख्य प्रायोजन गरेको छ । परिसरलाई पृथक बनाउन एशियन कंक्रिटोले परिसरलाई मार्वल पार्केटिङ गरी आकर्षक लुक्स दिने एसियन कंक्रिटो नेपालका उपाध्यक्ष श्याम झाले बताए ।