चितवनको ट्राफिक ब्याबस्थापन अस्तब्यस्त ।

प्रनिश थापा , चितवन । देशकै मध्य भागमा अवस्थित चितवन जिल्लालाई देशका विभिन्न राजमार्गहरुसहित राजधानीसँग जोड्न तथा पूर्व पश्चिमको विभिन्न राजमार्गहरुसम्म जोड्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ । तर, चितवनको भरतपुर महानगरपालिकाको सवारी ब्याबस्थापन अस्तव्यस्त हुने गरेको छ । पूर्व पश्चिम राजमार्गको महत्वपूर्ण भागको रुपमा रहेको भरतपुरको पुलचोक, शहीद चोक, लायन्सचोक तथा चौबिसकोठी क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई सवारीसाधन व्यवस्थापन का लागि हम्मेहम्मे पर्ने गरेको छ । बजारको मुख्य चोकमा सवारी साधन व्यवस्थापनका लागि ट्राफिक बत्तीको आवश्यकता भएपनि यसबारे कसैले चासो दिएको पाइदैन । ट्राफिक बत्ती नहुँदा केही दिनदेखि कार्यालय समयमा बजारका मुख्य भागहरुमा सवारी साधन जाममा पर्न थालेका छन् । एक जना ट्राफिक प्रहरीलाई त्यस ठाउँमा सवारी व्यवस्थापनका लागि कठिन हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक बेदप्रसाद गौतमका अनुसार पुलचोक, शहीद चोक, लायन्स चोक, चौबिसकोठी लगायतका क्षेत्रमा ट्राफिक बत्तीको आवश्यकता रहेको छ । ‘भरतपुरमा सवारी साधनको चाप बढ्दै गएको अवस्थामा बजारको मुख्य ठाउँहरुमा ट्राफिक बत्तीको आवश्यकता परेको छ’ गौतमले भने, ‘ट्राफिक बत्ती नहुँदा ती स्थानहरुमा लामो समयसम्म सडक जाम हुने गरेको छ ।’भरतपुरको मुख्य बजार नारायणगढ क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुन थालेपछि पूर्व पश्चिम जाने लामो दूरीका सवारी साधन समेत प्रभावित हुन थालेका छन् । लायन्स चोकदेखि पुल्चोकसम्मको झन्डै एक किलोमिटरको सडक आधा घन्टा जाममा बस्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार लायन्सोचोक देखि पुलचोकसम्म ट्राफिक व्यवस्थापन गर्न कठिन छ । महानगरपालिकाले सवारी पार्किङका लागि निर्माण गरेको स्थानमा पार्किङ नहुँदा समेत जामको समस्या यथावत् रहेको हो । भरतपुरको पुल्चोक भएर दैनिक रुपमा १५ हजार भन्दा बढी सवारी साधन ओहोर दोहोर गर्ने गरेका छन् ।