चितवन प्रहरीले बरामद गरेको डिजेल उडेरै स्वाह !

चितवन , ११ पौष । नाकाबन्दीको समयमा कालोबजारी गर्ने उद्देश्यका साथ अबैध बाटो भएर भित्रीएको ठुलो मात्रामा डिजल तथा पेट्रोल यतिखेर जिल्ला प्रहरी कार्यालय चितवनमा थन्किएको छ । बि। सं। २०७२ फागुन २३ गते चितवन प्रहरीले भरतपुर
१ रामनगरबाट ५० ड्रम अर्थात् झन्डै १० हजार लिटर डिजल बरामद गरेको थियो । बरामद गरिएको डिजेलको हालको बजार मूल्य अनुसार ९ लाख ७० हजार रूपैयाँ पर्न आउँछ । कालोबजारी गर्ने उद्देश्यका साथ अबैध बाटो प्रयोग गरी डिजेल एवं पेट्रोल ओसारपसार गरेको भन्दै प्रहरीले ना। ४। ख। ५५९४ नम्बरको ट्रकसहित चालक र २ जना सहयोगी पक्राउ परेका थिए । पक्राउ परेका नवलपरासी प्रतापपुरका पारसनाथ चौधरी, अशोक चौधरी र सतिश हरिजन विरूद्ध प्रहरीले कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइ जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुलाई जनही ६० हजार धरौटीमा छाडिदियो । तर, उनीहरुको साथबाट बरामद गरिएको झन्डै १० हजार लिटर डिजल भने उडेरै सकियो । त्यस्तै, सोही समयमा अवैध बाटो प्रयोग गरी ओसारपसार गरेको भन्दै चितवन प्रहरीले १५ हजार लिटर डिजल, २५ सय लिटर पेट्रोल, ४ लिटर मट्टीतेल, २० हजार लिटर हवाई इन्धन, ३१ वटा सिलिन्डर ग्याससमेत बरामद गरेको थियो । कालोबजारसम्बन्धी २५ वटा मुद्दा दर्ता भएकोमा सबै फस्र्योट भएको छ । ३७ जना अभियुक्त रहेकोमा ३४ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा रहेको ड्रममा तेल प्रयोग गर्न उपयुक्त छैन । रहेको अलिअलि तेल चुनावका बेलामा प्रयोग भएको तर अहिले प्रयोग गर्न योग्य नरहेको स्वयं प्रहरीहरु नै बताउँछन् । यता, चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले उक्त डिजलको विषयमा अहिले पनि मुद्दा चलिरहेकोले केही नगरिएको बताए ।