चितवनमा चालू आर्थिक वर्षको असारसम्ममा राष्ट्रिय परिचयपत्र वितरण गरिने ।


चितवन , ११ पौष । चितवनमा चालू आर्थिक वर्षको असारसम्ममा चितवनमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । दोस्रो चरणमा देशका विभिन्न १५ जिल्लामा फोटोसहितको परिचय पत्र वितरण गर्न लागिएकोमा चितवन पनि परेको हो ।
असार महिनासम्ममा परिचय पत्रका लागी आवश्यक तथ्यांक लिई जारी गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए । आमनागरिकका बारेमा व्यक्तिगत सूचना संकलनका लागी विभिन्न स्थानमा घुम्ती टोली परिचालन गरिने उनले बताए । साथै, सरकारले परिचयपत्र कार्यक्रम लागू गरेको जिल्ला र केन्द्रले तोकेको फिल्ड, कार्यालय वा स्थानीय तहका कार्यालय, वडा कार्यालय वा अन्य स्थानमा सम्बन्धित जिल्लाका नेपाली नागरिकले आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराउन सक्ने छन् । यसै विवरणका आधारमा केन्द्रले परिचय पत्र उपलब्ध गराउने महानिर्देशक काफ्लेले बताए । परिचय पत्रको अगाडि भागमा नाम, थर, जन्ममिति, लिंग, राष्ट्रियता, राष्ट्रिय परिचय नम्बर, आमाबाबुको नाम, फोटो, परिचय पत्रवाहकको फोटो, जारी मिति र वाहकको हस्ताक्षर हुनेछ । त्यस्तै, पछाडिपट्टि भने स्थायी ठेगाना, नागरिकताको किसिम, पतिपत्नीको नाम, बाजेको नाम, नेपालको नक्सा, प्रमाणपत्र जारी गर्नेको नाम, थर र पद रहने छ । नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्रका रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेटिक स्मार्ट कार्ड वितरण गरिने छ । वृद्धभत्ता र अन्य सामाजिक भत्ता पनि यसै कार्डको प्रयोग गरी जुनसुकै बैंकबाट रकम निकाल्न सकिने छ । कर, राजस्व छलीलगायतका आर्थिक अनियमितता नियन्त्रणमा ठूलो मद्दत पुग्ने, वैदेशिक रोजगारीको क्षेत्रलाई सुशासित तुल्याउन मद्दत गर्ने, भूमी व्यवस्थापनका क्षेत्रमा हुने अनियमितता र अनाधिकृत कारोबार नियन्त्रण हुने, सुशासन कायम गर्न उपयोगी हुने प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी समृद्ध नेपाल, सुखी नेपाली अभियानमा सहयोग पुर्‍याउने ध्येय रहेको उनले बताए । एक व्यक्ति एक परिचयपत्र नम्बर प्रणालीमा नागरिकता, पासपोर्ट, सवारी चालक लाइसेन्स आदि एकीकृत हुनेछ । कुनै कारणबाट परिचय पत्र क्षति वा नष्ट भएमा वा प्रयोगमा आउन नसकेमा सोही नम्बरको अर्को परिचय पत्र वितरण गर्ने महानिर्देशक काफ्लेले बताए । नेपालको संविधानको धारा १५ मा नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने व्यवस्था छ । आर्थिक वर्ष ०७५र०७६ को नेपाल सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीलाई बायोमेटिक सूचना र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने छ भनी उल्लेख गरिएको छ ।