आगोले गाउँ नै सखाप, दैनिक उपभोग्य सामानको हाहाकार

खोई सरकार कहाँ छ ?

पौष १०, काठमाडौं । आगलागीले पलाँता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् । वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो ।सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र सम्पत्ति जलेर नष्ट भएका छन् ।

स्थानीयले ज्यान जोगाउन भागाभाग मात्र गर्नुपरेन, टोलका झन्डै ६ सय नागरिक लत्ताकपडाविहीन भएका छन् ।
समुन्द्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा रहेको विकट बस्तीमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा स्थानीयका घर, चौपाया र धनमाल नष्ट भएका छन् ।
आगोका कारण धुवाँको मुस्लोले छोपिएको गाउँ आगो नियन्त्रणमा आएसँगै सोमबार बेलुकीबाट खुल्न थालेको छ ।
५४० जना खुला आकाशमुनि बस्न बाध्य छन् । घटनास्थलमा छिमेकी गाउँका बासिन्दा, सुरक्षाकर्मीलगायत परिचालित भए पनि अझै पीडितका लागि बास र कपडाको उचित प्रबन्ध हुन सकेको छैन ।

सदरमुकामबाट घटनास्थलसम्म पुग्ने मोटरबाटो नहुँदा उद्धारकर्मी ५ घण्टाको उकालो हिँडेर ढिलो गरी पुग्नुपरेको थियो । राति दुई बजेबाट आगलागी सुरु भए पनि घटनास्थलमा प्रहरी र सेनाको टोली हिँडेर बिहान उज्यालो भएपछि मात्र पुग्यो ।
आगलागीले गाउँमा रहेको एउटा मात्र खानेपानीको पाइप जलेपछि स्थानीयवासीसँग पिउने पानीसमेत छैन । सिंगो गाउँका लागि गाउँको बीचमा बनाइएको १४ हजार लिटरको ट्यांकीमा संकलन गरेको पानी बाडीचुँडी खाँदै आएका स्थानीयसँग अब तत्काल पानीको स्रोतसमेत छैन ।
गाउँपालिका उपाध्यक्षको घरसमेत आगलागीबाट जलेर नष्ट भएको छ । आगोले घर जलाउँदा गाउँ नै पीडित बनेको पलाँता गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले बताइन् । उपाध्यक्ष न्यौपानेको घरसमेत जलेर नष्ट भएको छ ।
‘एक जोर लगाएको कपडाबाहेक गाउँका ८७ वटै घरपरिवारका मानिसको सबै सामान जलेर नष्ट भएका छन्, खाने गाँस छैन, लगाउने कपडा छैन,’ उनले भनिन् ।

आगलागीका कारण अधिकांशका मोबाइल जलेर नष्ट भएको र विद्युत् आपूर्ति बन्द भएका कारण स्थानीय बाहिरी सञ्चार सम्पर्कबाट समेत वञ्चित भएका छन् ।
आगलागीमा झन्डै ३ करोड बढीको धनमाल क्षति भएको स्थानीय प्रशासनले अनुमान गरेको छ । परम्परागत शैलीले बनाएका घर सुक्खा खरले छाएका थिए । खाँडा गाउँमा खरको छाना भएका १७९ घर छन् । स्थानीय नवीन न्यौपानेको घरबाट सुरु भएको आगो निकै ढिलो गरी नियन्त्रणमा आएको हो ।
प्रदेश सरकाबाट उद्धार र राहत सामग्री संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रजिअ कार्कीले बताए ।
आगलागीमा परी घाइते हुनेमा ७० वर्षीया चन्द्ररूपा सञ्ज्याल, ७० वर्षीय देवराज हमाल, ३५ वर्षीय विष्णुऋषि न्यौपाने, ५८ वर्षीय कर्णप्रसाद न्यौपाने, १० वर्षीया करिस्मा न्यौपाने र ९ वर्षीय एक बालक छन् । प्रहरीले जनाएनुसार चन्द्ररूपा सञ्ज्याल गम्भीर घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएकोे छ ।

राहत संकलन सुरु
खाँडा गाउँ जलेपछि सहयोगी हातहरू जुट्न थालेका छन् । सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका अध्यक्ष डम्बरबहादुर शाहीले गाउँपालिकाबाट २ लाख नगद सहयोग गरेका छन् । पीडित परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष शाहीले राहतस्वरूप रकम सहयोग गरेको बताए ।
आगलागीपीडितका लागि जिल्लामा व्यापक रूपमा राहत संकलन अभियान थालिएको छ । कालिकोट उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्स कालिकोटले जिल्ला सदरमुकाम मान्म बजारमा राहत संकलन अभियान थालेको छ ।
घटनापछि कर्णाली प्रदेश सरकारले प्रतिघरधुरी २० हजार नगद, लत्ताकपडा र खाद्यान्न राहतस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रदेश सरकारको मुख्यमन्त्रीस्तरीय बैठक बसी राहत उपलब्ध गराउने निर्णय गरेको हो । मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट तत्कालीन राहतस्वरूपप्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले बताए । मुख्यन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट घाइते भएकाको उपचारमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । मुख्यमन्त्री शाहीले उक्त क्षेत्रका आगलागीपीडितलाई थप राहत र पुनःस्थापनाको सहयोगका लागि नेपाल सरकार, गृह मन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थालाई आग्रह गरेका छन् । आवश्यक राहत सामग्री हेलिकोप्टरबाट लगिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

गृह मन्त्रालयबाट २ सय थान कम्बल, ७० थान त्रिपाल, सय थान ज्याकेट, सय थान ट्राउजरसहितको राहत सामग्री बोकेर हेलिकोप्टरसहित कर्णाली प्रदेशका मुख्यमन्त्री आगलागीपीडित खाडा गाउँ पुगेका छन् ।
हेलिकोप्टरले जिल्ला प्रशासनको पहलमा खाध्य संस्थान कालिकोट शाखाबाट ९० बोरा चामल र रेडक्रसको सहयोगमा केही त्रिपाल, कम्बल, भाँडाकुँडा, साथै स्थानीय चेम्बर अफ कमर्स कालिकोट सहयोगमा संकलित लत्ताकपडा र चाउचाउलगायतका खाद्य सामग्री लिएर घटनास्थल पुगेको छ । संकलित राहत सामग्री स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा वितरण गर्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।