चितवन हात्ती महोत्सको तयारी तीब्र ।

 चितवन, ०३ पौष । चितवनको पर्यटकीय नगरी सौराहामा आगामी पुस ११ गतेबाट सुरु हुने चितवन हात्ती महोत्सको तयारी तीब्र पारिएको छ । महोत्सव सूरु हुने समय नजिकिदै गर्दा आयोजक क्षेत्रीय होटल संघ सौराहा चितवनले तयारी लाई तीब्र पारेको हो । महोत्सव अन्तर्गत स्थान व्यवस्थापन, प्रचारप्रसार, हात्तीलाई अभ्यास लगायत अन्य आन्तरिक तयारी भइरहेको संघले जनाएको छ । महोत्सव अन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीहरुको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता हुने संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । हात्ती फाष्टवाकमा २०,पोलोमा ४ टिम, फुटवलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागीता जनाउने छन । यस बर्ष महोत्सवको नयाँ कार्यक्रमको रुपमा कवि गोष्ठी समावेस गरिएको छ । देशभरका कविहरुलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्टिय तथा अन्तराष्टिय स्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । खेललाई रोमाञ्चक बनाउन हात्ती र हात्तीका छावालाई अभ्यास गराइएको संघका प्रथम उपाध्यक्ष एवम् महोत्सवका प्रबक्ता दीपक भट्टराईले बताए । महोत्सवको उद्घाटनको लागी राष्टपति विद्यादेवी भण्डारी ल्याउने पहल भइरहेको व्यवसायीहरुले बताएका छन् । चितवनको पर्यटन प्रर्बद्धनका लागि हरेक बर्ष हुने सो महोत्सव यस बर्ष पन्ध्रौँ सस्करण हो । महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनमा १५ गतेसम्म सञ्चालन हुने छ ।