अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने प्रचण्ड घोषणा
१ पौंष, भरतपुर । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने घोषण गरेका छन् ।
भरतपुर २१ मा रहेको भानु माध्यमिक विद्यालय पहारिलोटारमा आज(आईतबारबाट) शुरु भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अब अर्को निर्वाचन आउँदा सडकको धुलोमाटो खान नपर्ने भन्दै यस्तो बताएका हुन् । उनले भने, ‘अहिले तपाइँहरुलगायत म आउँदा पनि धुलोमाटो खान परेको छ, कुनै टेन्सन नलिनूस् अर्को चुनावसम्म धुलोमाटो खानैपर्दैन, यो तपाइँहरुलाई मैले पूर्ण विश्वास दिलाउँछु ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले समृद्धिको नमुना मोडेल चितवनले प्रस्तुत गर्ने दाबीसमेत गरका थिए । उनले भने, ‘म चितवनको प्रतिनिधि हो, त्यसमा पनि क्षेत्र नं ३ को प्रतिनिधि भएको नाताले पनि मैले यो क्षेत्रलाई विशेष रुपमा हेर्नुपर्छ, तर पार्टीको अध्यक्षको नाताले पूर्वप्रधानमन्त्रीको हैसियतले सबै जिल्लामा मैले ध्यान पु¥याउनुपर्छ ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले विद्यालयलाई र यो क्षेत्रलाई कम बजेट परेको भए पनि अर्को वर्ष यो क्षेत्रलाई आफूले विशेष रुपमा हेर्ने बताए । अबको ५ वर्ष्भित्र चितवनले एउटा मोडेल प्रस्तुत गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले अध्यक्षको गृहजिल्लामा आफ्नो पूर्ण साथ र सहयोग रहने बताए । उनले भने ५ वर्षपछि चितवनले काँचुली फेर्नेछ ।’
कार्यक्रममा भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले विद्यालय र वडाको अवस्थाबारे जानकारी गराएका थिए ।
विद्यालयको ज्ञान महायज्ञबाट ५ करोड उठाउने लक्ष्य लिइएको छ । आज पहिलो दिनमैं १ करोड संकलन भएको आयोजकले जनाएका छन् ।