चितवनको पोलपोलमा चोरीका बिजुली बल्दै, प्राधिकरण भने मौन ।
प्रनिश थापा, चितवन, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणलेे चोरीका बिजुली बाल्ने अभियानलाइ कडाइ गरेको जतिसुकै दाबी गरेता पनि चितवनमा भने चोरीको बिजुली बाल्ने परम्परा अझै यथावत नै रहेको पाइएको छ । जिल्लाको सदरमुकाम मै चोरीका बिजुली बालेको सप्रमाण हामीले फेला पारेको छौँ । नेपाल बिद्युत प्राधिकरणका इन्जिनियर अविनाश महतोले चालु आर्थिक वर्षको चौमासिकमा विद्युत चोरी गर्ने ५७० सेवाग्राहीहरुको विद्युत लाइन काटेको जनाएको छ । विद्युत लाइन काटिनेमध्ये ५२५ सेवाग्राहीबाट ७८ लाख ९८ हजार २४४ रुपैंयाँ असुली गरिएको उनलेे जानकारी दिए । चालु आर्थिक वर्ष ०७५/७६ को कात्तिक मसान्तसम्ममा लाइन काटिएका ५७० सेवाग्राहीबाट ८१ लाख ९८ हजार ७८४ रुपैंयाँ असुली गर्नुपर्नेमा अझै ४५ सेवाग्राहीले जरिवाना बुझाएका छैनन् । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले यस आवमा विद्युत् चुहावट ८ दशमलब ६२ प्रतिशतमा झार्ने लक्ष्य लिएको महतोले बताए । प्राधिकरणको विद्युत चुहावट हाल ९ दशमलब ६ प्रतिशत रहेको छ । चालु आ.व.को साउन महिनामा ८० जना, भदौमा १६० जना, असोजमा १२७ जना र कात्तिकमा १५८ जना सेवाग्राहीले विद्युत् चोरी गरेको प्राधिकरणले जनाएको छ । चौमासिकमा हुकिङ गरी विद्युत् चोरी गर्ने ५३ सेवाग्राहीबाट पाँच लाख ३३ हजार ३४२ रुपैंयाँ र मिटर बाइपास गरी विद्युत् चोरी गर्ने ३८ सेवाग्राहीबाट चार लाख १९ हजार ४१७ रुपैंयाँ असुली गरिएको छ । प्राधिकरणको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गरी ८० हजार बढी सेवाग्राही रहेका छन् ।