गणेशधाम निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने : मुख्यमन्त्री पौडेल


चितवन,मंसिर १६
भरतपुर महानगरपालिका–११ मा निर्माण हुन लागीरहेको गणेशधाम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान क्षेत्रको स्थलगत निरीक्षण पश्चात गणेशधाम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले गणेशधाम प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भन्दै तीब्रताका साथ काम गर्न निर्देशन दिए । ‘विकास निर्माणका लागि यहाँका स्थानीयहरु आफै जागरुक हुनुपर्छ’,मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेशका हरेक जिल्लामा यस्तै एउटा धाम र महत्वपूर्ण काम गर्नुपर्छ ।’
गणेश धाम आगामी पुस्ताले सम्झन लायक कामका रुपमा स्थापित हुने उनले बताए । ‘फलानो पुस्ताले यस्तो सुन्दर काम गरेको थियो, भन्ने इतिहास बनाएर छोड्नुपर्छ’,उनले भने, ‘जीवनमा एकपटक यस्तो महत्वपूर्ण जिम्मेवारी पाइन्छ ।’ गणेशस्थान क्षेत्र अवलोकन गर्दा सुन्दर र सम्भावनायुक्त ठाउँ देखेको मुख्यमन्त्री पौडलले बताए ।
यस्तै प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले गणेशधाम क्षेत्रका सामुदायिक वनहरुमा उत्पादनमूलक फलफूलका विरुवा रोप्न आग्रह गरे । उनले गणेशधामलाई हरियाली बनाउन कृषि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गणेशधाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिले तीव्रताका साथ काम गरिरहेको छ ।
महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिघा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ बिघामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।