बिचौलियाको मारमा अण्डा उत्पादक किसान

७ रुपैयाँमा सप्लायर्सलाई विक्री

चितवन । बजारमा बिचौलिया हावी हुँदा चितवनका अण्डा उत्पादक किसान मारमा परेका छन् । अण्डाको लागत नै प्रतिगोटा ९ रुपैयाँभन्दा बढी पर्ने तर प्रतिगोटा ७ रुपैयाँमा सप्लायर्सलाई विक्री गर्नुपर्दा आफूहरू मर्कामा परेको गुनासो किसानले गरेका छन् । यही समस्याले जिल्लाका अधिकांश किसानले अण्डा पार्ने कुखुरा ९लेयर्स०को लगानीमा कटौती गर्न थालेका छन् ।

अण्डा उत्पादन राम्रो भए पनि लागत मूल्य नै नपाउँदा यो व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको भरतपुर महानगरपालिका–२२ का किसान नवीन घिमिरेले बताए । ‘एकातिर घाटा खाएर अण्डा बेच्नुपर्ने, अर्कोतिर दाना, औषधि, बैङ्कको ब्याज तिर्न नसक्ने, हामी दोहोरो मारमा परेका छौं,’ उनले भने । सप्लायर्सको मनोमानी र अण्डा भण्डारण गर्न नसक्दा घाटा बेहोर्नु परेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाका अर्का किसान ज्योति न्यौपानेको पीडा पनि उस्तै छ । ‘अण्डाको भाउ ६ महीनादेखि बढेको छैन,’ उनले भने, ‘तर कुखुराको दाना, औषधिलगायत सबै वस्तुको मूल्य बढ्दा मर्कामा परेका छौं ।’ आफूले अण्डाको सही मूल्य दिन अडान गर्दा सप्लायर्सले अण्डा नलिने गरेको उनको गुनासो छ । यही कारण आफूले फार्ममा १५ हजार ओटा कुखुराबाट घटाएर ५ हजार ५ सयमा झारेको उनले सुनाए ।

भरतपुर महानगरपालिका –२२ का अर्का किसान वासुदेव अधिकारीले एक हप्ताअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट २ सय ३० भए पनि हाल २ सय रुपैयामा झरेको बताए । सप्लायर्सले चल्ला, अण्डा उधारोमा दिने र बिचौलियाले सस्तोमा अण्डा बेच्न दबाब दिएकाले उचित मूल्य नपाएको उनको भनाइ छ ।

सप्लायर्सहरू भने अण्डा उत्पादनको तुलनामा आपूर्ति कम भएकाले मूल्यमा उतारचढाव भएको बताएका छन् । ‘बजार माग र आपूर्तिमा निर्धारित हुन्छ,’ न्यू जयश्री पोल्ट्री सप्लायर्सका तेजनारायण पाण्डेले भने, ‘हामीले बजारको माग हेरेर नै किन्ने हो, मूल्य घटाएको भन्न मिल्दैन ।’ अन्य जिल्लामा पनि अण्डा उत्पादन बढेकाले प्रतिस्पर्धा भएर मूल्य घटेको उनले बताए ।

नेपाल अण्डा उत्पादक सङ्घले भने बिचौलियाको चलखेलका कारण किसानले सस्तोमा अण्डा बेच्नुपरेको बताएको छ । ‘हाम्रो अण्डाको मूल्य निर्धारण गर्ने काम हो, खरीद गर्ने काम सप्लायर्सको हो,’ सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले भने, ‘मूल्यमा एकरूपता ल्याउन किसान पनि एक हुनुपर्छ र राज्यले पनि नियमन गर्नुपर्छ ।’

उत्पादन मूल्य र उपभोक्ता मूल्यबीच दोब्बर फरक हुँदा बीचको मार्जिन बिचौलियाले खाएको किसानको आरोप छ । सङ्घले ठूलो अण्डा प्रतिक्रेट २ सय ३० र मझौला अण्डाको मूल्य प्रतिक्रेट २ सय रुपैयाँ तोकेको छ ।

सङ्घको तथ्याङ्कअनुसार देशभर दैनिक ३५ लाख अण्डा हुँदै आएको छ भने चितवनमा यसको ६० प्रतिशत उत्पादन हुन्छ । जिल्लामा अण्डा उत्पादक किसान करीब २ हजार छन् । अभियान दैनिकबाट ।