केराब्याबसायीहरुले कृषिमन्त्री खनाललाइ बुझाए ज्ञापनपत्र ।
चितवन , ६ मंसिर ।केरा व्यवसायीहरुले भारतबाट आयातित केराले नेपाली व्यवसायीलाई असर पारेको भन्दै भन्सार बढाउन केरा ब्याबसायीहरुले माग गरेको छ । केरा किसानहरुको एक टोलीले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’लाई भेटर भारतबाट आउने केराको भन्सार दरमा भारी वृद्धि गर्न माग गरेका हुन् । ‘अहिले भारतबाट आउने केराको भन्सार दर जम्मा ५ प्रतिशत छ, यसलाई बढाएर हामीले ३० प्रतिशत पुर्याउन भनेका छौँ’ केरा उत्पादन संघ चितवनका पूर्वअध्यक्ष यज्ञ प्रसाद सुवेदीले भने, ‘भारतबाट आयतित केराको भन्सार दर बढेमा नेपालमा उत्पादन भएको केराले प्रतिस्पर्धा गर्न सक्छ ।’ मन्त्री खनाललाई नेपालका १० जिल्लाका केरा उत्पादन संघका अध्यक्षहरुको टोलीले भेटेर तत्काल भारतबाट आयातित केराको भन्सार दर बढाउन माग गर्दै अन्यथा व्यवसायबाट पलायन हुनपर्ने अवस्था आउने गुनासो गरेका थिए । केरा किसानहरुको टोलीले मन्त्री खनाललाई सात बुँदे ज्ञापनपत्रसमेत बुझाएका थिए । ‘स्वदेशी केराको लागत घटाइ सस्तो मूल्यमा उत्पादन गर्न सक्ने वातावरण बनाइदिन पनि हामीले सरकारसँग माग गरेका छौँ’ केरा व्यवसायी तथा पूर्वअध्यक्ष सुवेदीले भने, ‘अहिले भारतीय केराले बजार खाइरहेको छ, स्वदेशी केराले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन, हामीलाई प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन स्पष्ट नीति ल्याउन मन्त्रीसमक्ष आग्रह गरेका छौँ ।’ भारतबाट आयातित केराको भन्सारमा भारी वृद्धि गरे नेपाली केराले पनि मूल्य पाउने उनको भनाइ थियो । केरा किसानहरुले मन्त्रीसँग स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नीति ल्याउन माग गरेका थिए ।