नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजन कार्यालय चितवनको पानी तान्ने पम्पहरु जीर्ण बन्दै ।

चितवन , २ मंसिर । संघीय तथा प्रदेश सरकारले समयमै बजेट निकासा नगर्दा नारायणी लिफ्ट, खगेरी सिंचाई व्यवस्थापन डिभिजन कार्यालय चितवनको पानी तान्ने पम्पहरु जीर्ण बन्दै गएको छ । झन्डै ४० वर्ष अगाडि जडान गरिएको नारायणी लिफ्टको पानी तान्ने पम्प र मोटरहरु जीर्ण बन्दै गएको हो । हाल ४० वर्षभन्दा पुराना प्रतिसेकेण्ड दुई हजार लिटर पानी तान्ने २ ओटा र प्रतिसेकेण्ड ४ हजार लिटर पानी तान्ने २ ओटा पम्प रहेका छन् । पम्प जुनकुनै बेला पनि काम नलाग्ने गरी बिग्रने भएकाले नयाँ पम्प खरिद गर्न डिभिजन कार्यालयले सिंचाइ विभागसँग बजेट माग गरेको छ । वर्षमा मुस्किलले ४ महिनामात्रै नहरमा पानी छाड्दै आएको नारायणी लिफ्टले मेसिन मर्मतमा मात्रै वर्सेनी २ करोडसम्म खर्च गर्ने गरेको प्रमुख खेमबहादुर पाठकले बताए । पाठकका अनुसार यसअघि सञ्चालनमा रहेको बृहत सरकारी सिँचाई पुनःस्थापन व्यवस्थापन हस्तान्तरण कार्यक्रम प्रदेश वा संघीय सरकार कसले चलाउने भन्ने अन्यौल हुँदा सो कार्यक्रम अन्तर्गतका बजेट निकासा रोकिएको हो । ठूलो बजेटको योजना भएकाले प्रदेश वा केन्द्रीय सरकार कसले बजेट स्वीकृत गर्ने भन्नेमा अन्यौलता छ । “जीर्ण पम्पहरु छन्, कुनबेला बिग्रिन्छ अनुमान लगाउनै मुस्किल छ”, उनले भने, “प्रदेशमार्फत विभागमा पहल भइरहेको छ, योजना स्वीकृत भए ३÷४ वर्षमा पूरै काम सम्पन्न हुनसक्छ ।” पानी तान्ने पम्प, मोटरलगायत सबै उपकरण खरिद गर्नका लागि डिभिजन कार्यालयले डेढ अर्ब रुपैंयाँको इस्टिमेट तयार पारेको डिभिजन प्रमुख पाठकले जानकारी दिए । डिभिजनले धान रोप्ने बेलामा असार १० गतेदेखि ३ महिना सम्म नहरमा पानी छाड्ने गरेको छ । तीव्र शहरीकरणका कारण भरतपुर क्षेत्रमा करिब १२ किलोमिटर नहर अतिक्रमण भएको छ । नारायणी लिफ्टको नहर सि पूर्णरुपमा अतिक्रमण भएको भन्दै उनले यस विषयमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायलाई जानकारी गराएको भए पनि कुनै कदम नचालिएको बताए । सरकारका व्यक्तिहरुले नै नहर पुर्दै आएकाले उनीहरुलाई कारबाही गर्न आफूहरुको खुबी नरहेको बताए । नारायणी नदीको पानी पम्प मार्फत तानेर भरतपुर महानगरको करिब तीन हजार ५०० हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ पुर्‍याइएको छ । नयाँ पम्प आएपछि खगेरी सिंचाई क्षेत्रको करिब तीन हजार ९०० हेक्टर जमिनमा समेत सिंचाई पुर्‍याउन सकिने डिभिजनले जनाएको छ । उनका अनुसार १० हजार हेक्टरभन्दा कम क्षेत्रफल सिँचाई गर्ने आयोजना प्रदेश सरकारमातहत रहने भएपछि यो योजनाबीचमै अलपत्र परेको छ । प्रदेशमा सिँचाईको संरचना नहँुदा योजनाले गती लिन सकेको छैन । प्रतिसेकेण्ड ४ हजार लिटर र २ हजार लिटर पानी तान्ने २÷२ वटा पम्प तथा मोटर खरिद गर्न मात्रै ६० करोड लाग्ने अनुमान गरिएको छ । “करिब ४० वर्ष पुरानो प्रविधिको भरमा छौँ, अब नयाँ प्रविधि चाहिन्छ”, उनले भने, “विद्युत् कम खपत गर्ने, पर्याप्त पानी तान्ने प्रविधिका मेसिन ल्याउन बजेट माग गरिरहेका छौँ ।” उनले पम्प हाउसका मोटर बेलाबखत बिग्रिरहने समस्याले नयाँ पम्प जडान आवश्यक देखिएको बताए । उनका अनुसार पम्पले क्षमताभन्दा आधा मात्रै पानी तान्ने गरेको छ । “नयाँ पम्प जडान भएमा खगेरी सिँचाई आवश्यक पानीसमेत वितरण गर्ने अवस्था बन्छ”, उनले भने, “लागत अनुमान पुनः संसोधन गरेर प्रदेश सरकार मार्फत विभागमा पठाउने तयारीमा छौँ ।” नारायणी लिफ्टको पानी राधापुर र देवनगर स्थित नहरबाट खगेरी सिँचाई प्रणालीमा मिसाउन सकिन्छ । नहर सुधार भए पश्चिम चितवनका धेरै भू (भागमा सिँचाइ सुविधा विस्तार हुने उनको भनाइ छ । नारायणी लिफ्टको ‘ए’ नहर ५ सय मिटर, ‘बी’ नहर १९ किमी र ‘सी’ नहर १६ किमी लामो छ । ‘बी’ नहरले यज्ञपुरी, तोरीखेत, पारसनगर, देवनगर र फूलबारीसम्मको जमिनमा सिंचाई सुविधा उपलब्ध गराउँछ । ‘सी’ नहरले भोजाड, बसेनी, गोन्द्राङ हुँदै गौरीगञ्ज सम्म सिंचाई पुर्‍याएको छ । “पम्प वर्षभरी नै चलाउन सक्ने अवस्था छैन”, पाठकले भने, “पानीसहित बालुवा, माटो पनि तान्दा मेसिन बिग्रिन्छन्, बनाउनुपर्‍यो, नहर पनि सफा गर्नुपर्‍यो, त्यसैले समस्या छ । असारदेखि असोजसम्म सिँचाईको माग बढी हुने बेलामात्रै पम्प गरेर पानी नहरमा छाडिने उनले बताए । “सिँचाई सुधारका लागि तिहार अगाडि केही योजना प्रदेशमा पेश भएका छन्”, उनले भने, “ठूलो योजना भएकाले नयाँ पम्प जडान गर्न केन्द्रीय सरकारसँगै पहल भइरहेको छ ।”उनले बढ्दो शहरीकरणले भरतपुर महानगरपालिकाको ७, १० र ११ का नहर मासिन लागेको बताए । “सी नहरमा धेरै क्षति पुगेको छ, अतिक्रमण भएको छ”, उनले भने, “नहर जोगाउन स्थानीयनै अग्रसर बन्नुपर्ने देखिएको छ ।” उनका अनुसार सी नहरको करिव १५ किमी पूरै अतिक्रमणमा परेको छ । नारायणी लिफ्ट अन्तर्गत ३ हजार ५ सय हेक्टर र खगेरी सिँचाई प्रणाली अन्तर्गत ३ हजार ९ सय हेक्टर क्षेत्रमा सिँचाई हुँदै आएको छ ।