मापदण्डविपरित सञ्चालित उद्योगलाई करको दायरामा ल्याउन सिरक कपडा उद्योग संघको माग ।

चितवन , २८ कार्तिक । कपास तथा सिरक डसना उद्योग व्यवसायी संघ चितवनले जिल्लामा अबैधानिक रूपमा सञ्चालित सिरक डसना बनाउने उद्योगलाई तत्काल नियन्त्रणमा लिन स्थानीय सरकार समक्ष माग गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनको शाखामा आज आयोजित पत्रकार सम्मेलनमा संघले मापदण्डविपरित सञ्चालित उद्योग लाई तत्कालै मापदण्डमा ल्याइ करको दायरामा राख्न स्थानीय सरकारलाइ आग्रह गरेको हो । अवैधानिक रुपमा सञ्चालित उद्योगहरुका कारण राजस्व तिरेर सञ्चालनमा आएको कपास तथा सिरक डसना उद्योगहरु धरासायी हुन थालेको व्यवसायीहरु गुनासो गर्छन् । मापदण्डविपरित सञ्चालित उद्योगलाई तत्कालै नियन्त्रणको माग राख्दा राज्यलाइ कर तिरेर सञ्चालन गरेका सिरक डसना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको र बाहिरी मुलुकबाट आएका केही व्यक्तिहरुले अवैधानिक रुपमा उद्योग व्यवसाय सञ्चालन गरेर राज्यलाई कर समेत नतिरी यहाँको पैसा बाहिर लैजानेलाई संरक्षण गर्ने गरेको आरोप संघले लगाएको छ । गैरब्याबसायीक रूपमा सञ्चालनमा आएको ब्याबसायीलाइ कार्वाही गरी नियन्त्रण गर्नुपर्ने माग राख्दै भरतपुर महानगरपालिका पुग्दा आफूहरुलाई मेयरसँग भेट्न समेत नदिएको संघका अध्यक्ष चन्दना कोइराला गुनासो गर्छिन् । बिना स्वीकृत, बिनादर्ता र नेपालको औद्योगिक नीति विपरित चलेका सिरक डसनाका घुम्ती उद्योगको नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारको भएपनि भरतपुर महानगरपालिका टुलुटुलु हेरेर बसेपछि पत्रकार सम्मेलनमार्फत स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन आफूहरु बाध्य भएको संघको गुनासो थियो ।