चितवनमा ८४३ जना भुकम्पपीडितले तेस्रो किस्ता लिए ।

चितवन , २७ कार्तिक । चितवन जिल्लाको आठ ठाउँमा बस्न जोखिमयुक्त भनिएका बस्ती स्थायी रुपमै सार्ने काम सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ चितवनका इन्जिनियर सुजन नेपालका अनुसार इच्छाकामना गाउँपालिकाका कुयलघारी, धुषा, तीनघरे, हेप्चेक, गुजिवाङ, मैतेश र राप्ती नगरपालिकाको एसिखाइ, तपाङ बस्ती जोखिमयुक्त बस्ती रहेको जनाएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार जिल्लामा कुल ७ हजार ३३५ भूकम्पपीडित रहेकोमा ८४३ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिइसकेका छन् । भने, अझै १ हजार ६५३ जनाले पहिलो किस्ताको सम्झौता गरेका छैनन् । ३ हजार ९१ जनाले दोस्रो र ५ हजार ६८२ जनाले पहिलो किस्ता लिइसकिएको प्राधिकरणले जनाएको हो । चितवनमा घर प्रमाणीकरण छुटेको भन्दै गुनासो दर्ता गर्नेको संख्या ६ हजार १८ रहेको छ । उक्त गुनासोमाथि छिटै कारबाही थालिने इन्जिनियर नेपालले बताए । चाडबाडका कारण घर निर्माण कार्य रोकिएपछि भनेअनुसार प्रगति सार्वजनिक नभएको स्विकार्दै इन्जिनियर नेपालले दोस्रो किस्ता लिई अन्तिम चरणमा घर निर्माणमा जुटेकाहरुको संख्या बढी रहेकाले चितवनमा निजी आवास निर्माणको प्रगति केही समयपछि सन्तोषजनक देखिने बताए । स्थानीय तहका जनप्रतिनिधिको चासो, इन्जिनियरको सक्रियता र लाभग्राहीको कारण छिटोभन्दा छिटो काम भइरहेको छ भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि सबै स्थानीय तहलाई भूकम्पको जिम्मेवारी दिएकाले काम गर्न सहज र छिटो हुनेमा आफू बिश्वस्त रहेको उनको भनाइ छ ।