निकटलाई करोडौं, सर्वसाधारणका ५ हजार निवेदन अलपत्र
काठमाडौं,२७ कार्तिक । सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाउँदै आएको पाइएको छ । आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई कुल्चँदै सरकारले आफूनिकटलाई करोडौं रुपैयाँ वितरण गर्दै आएको पाइएको हो ।
विपन्न, गरिब र पहुँच नभएका नागरिकले उपचारका लागि राज्यकोषबाट एक रुपैयाँ पनि पाउन नसकेको अवस्थामा शक्तिकेन्द्रमा पहुँच भएकाले भने कार्यविधिविपरीत २ लाखदेखि १५ लाख रुपैयाँसम्म आर्थिक सहायता लिएको पाइएको छ ।
सरकारले २०६६ सालमा नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि ल्याएको थियो । सो कार्यविधिमा अशक्त, गरिब र विपन्न नागरिकलाई आर्थिक सहायता दिन सक्ने व्यवस्था गरिएको छ ।
सरकारले गत आठ महिनाको अवधिमा आफूनिकटका सयौं व्यक्तिलाई ५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डमा देखिएको छ । तर, सामान्य नागरिकले उपचारका नाममा आर्थिक सहायता माग्दै गृह मन्त्रालयमा बुझाएका ५ हजार निवेदन भने आठ महिनादेखि अलपत्र छन् । राजधानीबाट ।