‘सबै यहूदीहरु मर्नुपर्छ’ :गोलीबारी अघि आक्रमणकारीको हुङ्कार !

 

एजेन्सी । अमेरिकी प्रान्त पेन्सिलभेनियाको पीट्सबर्ग क्षेत्रमा शनिबार बिहान १० बजे एक यहूदी धर्मस्थलमा एक बन्दुकधारीले गोलीबारी गरेका छन् ।

स्थानीय प्रहरी अधिकारीहरुले हमलावर स्थानीय ४६ वर्षीय रोबर्ट बोवर्स रहेको बताएका छन् ।

प्रहरीका अनुसार घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

यस मामिलाको अनुसन्धान गरिरहका अधिकारीहरुले यसलाई ‘हेट क्राइम’ को रुपमा हेरेका छन् ।

यहूदी विरोधी विचारबिरुद्ध संघर्ष गरिरहेको एक गैरसरकारी संख्था एन्टी–डिफेमेसन लिगका अनुसार यो अमेरिकी इतिहासमा यहूदीहरुमाथि गरिएको सबैभन्दा ठूलो हमला हो ।

निशाना बनाइएको धर्मस्थल ट्री अफ लाइफको आधिकारिक वेबसाइटका अनुसार हमलाको समय त्यहाँ प्रार्थना चलिरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहूदी अमेरिकीहरुमाथि भएको यस हमलापछि पूरा अमेरिकाको समवेदना पीडितहरुको साथमा रहेको बताए ।

कति बेला भयो हमला रु

रिपोर्टका अनुसार यहूदीहरुको प्रार्थनास्थल ट्री अफ लाइफ सिनगगमा एक व्यक्तिले असल्ट राइफल र दुई पेस्तोल लिएर प्रवेश गरे ।

गोलीबारीको आवाज सुनेपछि स्थानीय समयअनुसार बिहान १० बजे आपतकालिन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।

प्रहरीका अनुसार उनले त्यहाँ २० मिनेट बिताएका थिए ।

पेन्सिलभेनिया स्क्वेयर हिलमा अधिकांश यहूदी समुदायका रहेका छन् ।

को हुन् हमलावर ?

अमेरिकी मिडियाका अनुसार हमलावरले गोलीबारी सुरु गर्न अघि ‘सबै यहूदीहरु मर्नुपर्छ’ भन्ने नारा लगाएका थिए ।

सन्दिग्ध हमलावर रोबर्टले सामाजिक सञ्जालमा यहूदी विरोधी टिप्पणी गरेको पनि देखिएको थियो ।

पक्राउ परेपछि पनि उनले यहूदीबिरोध टिप्पणी गरेका थिए ।

पीट्सवर्गको एफबीआई स्पेसल एजेन्ट बब जोन्सले यस गोलीबारी गर्नुको कारण हालसम्म नखुलेको बताए ।

यता, पीट्सवर्गका पब्लिक सेफ्टी डाइरेक्टर वेन्डल हिस्सरिचले घटनामा दुई अधिकारी घाइते भएको जानकारी दिए ।

घटनापछि त्यस क्षेत्रका सबैजस्ता ‘इन्टर फेथथ विजिल’ मा सहभागी हुन एकत्रित भएका थिए ।

स्थानीय नागरिक सोफिया लेविनले बिबिसीसँग कुरा गर्दै यस घटनाले आफूहरु दुखित भएको र एक जुट भएर साथ रहनुपर्ने बताइन् ।

एजेन्सी