सार्वजनिक जग्गामा बनाउदै गरेका दुई घरमा डोजर लगाउदै रत्ननगर नगरपालिका
चितवन ०९ कार्तिक । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गर्दै गर्दाका दुई वटा घर डोजर लगाएर भत्काएको छ । टिकौलीको सुकुमवासी बस्तीमा गैरकानुनी रुपमा निर्माण गरिदै गरेका दुई वटा घर वडा नं ९ वडा कार्यालयले भत्काएको हो । बस्तीका सुकराम दराई र मनिकलाल मुखियाको निर्माणाधिन घर भत्काइएको हो । ऐलानी जग्गामा घर निर्माण नगर्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि घर भत्काउन बाध्य भएको वडाध्यक्ष रोशन आचार्यले जानकारी दिए । पशुहाटबजार टोल विकास संस्था र दोभान टोल विकास संस्था अन्तर्गत पर्ने बस्तीमा दराईको घरको गारो लगाउदै गरेको घर र मुखियाको डिपीसी गरेको अबस्थाको घर भत्काइएको थियो । वडाध्यक्ष आचार्यले दराईले पाँच लाख रुपैयामा जग्गा विक्री गरेर अर्को व्यक्तिले बनाउदै गरेको घर भत्काइएको बताए । वडाले सुकुमवासी बस्ती व्यवस्थापनको काम सुरु गर्ने तयारी गरिरहेका बेला बस्तीमा नयाँ घर थपिन नदिन रोक्ने प्रयास गरिएको आचार्यको भनाई छ । गत साउन महिनामा गरिएको घरधुरी सर्बेक्षणमा ९७ घर रहेकोमा तीन महिनाको अबधिमा घरधुरी संख्या बृद्धि भइ १२१ पुगेको हो ।