धर्मको नाममा महाराजको ठगी धन्दा

newsabhiyan

मधुसूदन रायमाझी, काठमाडौंं । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ। विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको हो।

धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका–५ घर भएकी होमकुमारी ओझालाई ६० लाख रुपियाँभन्दा बढी ठगी गरेकोे खुलेको छ।

धर्मप्रति लगावका कारण १०८ ठाउँमा महायज्ञ लगाउने चाहना बोकेर हिँड्नुभएकी ओझाले त्यही क्रममा उत्तम भट्टसँग चिनजान हुन पुग्यो। ओझाले सार्वजनिक र निजी स्थानमा भागवत् लगाउँदै आएको ‘विश्व भागवत् धाम नेपाल’ नामक संस्थामा आबद्ध हुन पुग्नुभयो।

धादिङको परेवाटारमा धाम बनाउने उद्देश्यका साथ शुरू भएको महायज्ञमा लगानी गर्दै ओझाले घरखेतसमेत बन्दकी राखेर लगानी गर्नुभयो। तर, धाम बनाउन कुनै ध्यान नै नदिएपछि निर्माण गर्नका लागि दबाब दिँदा आफूलाई निकालिएको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘धाम बनाउने नाममा कमाइखाने भाँडो बनाइयो, पवित्र उद्देश्य राखी घरखेत नै बन्दकी राखेर पैसा लगानी गरें, तर धर्मको नाममा ठगीको व्यापार भएको थाहा पाएपछि मैले पैसा फिर्ता मागेकी हुँ।’

२०७० सालमा गुरु भट्टराईले व्यक्तिगत प्रयोजनका लागि भन्दै १२ लाख रुपियाँ ऋण लिएका थिए। पटक–पटक पैसा माग्दा नदिएपछि २०७४ पुस ३० गते असार मसान्तभित्र पैसा दिने तमसुक गरेका थिए। तर, उक्त पैसा अझैसम्म नपाएको पीडित ओझाले बताउनुभयो।

पैसा माग्दा उल्टै ज्यान मार्ने धम्की आएको आरोप लगाउँदै ओझाले न्यायका लागि प्रहरीमा उजुरी दिएको बताउनुभयो। आफूले कुनै गल्ती नगरेको दाबी गर्दै उहाँले गल्ती ठहरिएको अवस्थामा आफू जेल जानसमेत तयार रहेको बताउनुभयो।
}
‘१२ लाख रुपियाँ व्यक्तिगत प्रयोजनका लागि र ५० भन्दा बढी सप्ताह लगाएको ठाउँ म्यानेजमेन्टमा भन्दै ठगी गरे’, ओझाले भन्नुभयो– ‘धर्मका नाममा ठगहरू रहेछन्। यो पोल खुल्ने डरले अहिले मदेखि टाढा भएका छन्।’ ठगीको बारेमा थाहा भएपछि आफूले पैसा माग्न पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन नचाहेको उहाँले बताउनुभयो।

उत्तम भट्टलाई रकम दिँदा आफूले आफ्नो पुर्खाले दिएको नुवाकोटको १२ रोपनी जग्गा फाइनान्समा धितो राखेको समेत बताउदै उहाँले कागज गर्दा साक्षी बसेका हरिशरण नेपाललाई एकपटक आफैंले प्रहरीको अगाडि उभ्याए पनि प्रहरीले चासो नदिएको ओझाले बताउनुभयो। विश्व भागवत् धाम नेपाल कुम्पुर–३ धादिङमा स्थापित भएको धार्मिक संस्था हो।

यस संस्थाले विभिन्न सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक स्थलको जगेर्ना गर्ने, संस्कृत शिक्षालाई विकास गर्ने, गुरुकुल तथा विभिन्न खालका आश्रम निर्माण गर्ने उद्देश्य राखेको छ। विश्व भागवत् धाम नेपालका वासु घिमिरे पनि भट्टकै ठगी धन्दामा सहयोगी भएको आरोप ओझाले लगाउनुभएको छ।

तर घिमिरेले भने ओझाले लगाएको आरोपमा सत्यता नभएको दाबी गर्नुभयो। धादिङको विशालटारमा ३ करोडको विद्यालय बनाएको बताउँदै घिमिरेले चुस्न र खान नपाएपछि असन्तुष्टि लिएर ओझा बाहिरिएको बताउनुभयो।

ठगिएको बारेमा थप बुझ्न खोज्दा पण्डित उत्तम भट्टले फोन उठाएर कुरा गर्न चाहनुभएन।
नेपाल समाचारपत्रबाट

sahid diwas