रत्ननगर क्षेत्रलाइ तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने तयारी
चितवन , २४ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकालाई तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन सरकारीस्तरको सहकारी बजार विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । तरकारीको उत्पादन र बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिका र सहकारी बजार विकास कार्यक्रम सम्झौता भएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र सहकारी बजार विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सुमन शेखर मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । चितवनलाई पकेट क्षेत्र बनाउदा किसान लाई तरकारी उत्पादनमा प्रोत्साहन गर्न बजार व्यवस्थासँगै औजार र सिंचाइको राम्रो व्यवस्थापन गरिने छ । किसानको खेतबाट बजारसम्म तरकारी ओसार्न सवारीसाधन को समेत व्यवस्था गरिने बजार विषय विज्ञ वन्दना अर्यालले जानकारी दिए । सो कार्यक्रम नगरभित्रका उत्पादनमूलक सहकारीसँगको सहकार्यमा अगाडि बढाइने उनलेे बताइन् । त्यसका लागि नगरपालिकाले ४ सहकारीको छनोट गरी जिल्ला सहकारी संघमार्फत सहकारी बजार विकास कार्यक्रममा पेश गर्नुपर्ने अर्यालले बताइन् । कार्यक्रम सुरू भएपछि नगरलाई तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न तरकारी उत्पादनदेखि संकलन केन्द्र, बजार सञ्चालनदेखि भण्डारण सम्मको काम हुने बजार विषय विज्ञ वन्दना अर्यालले जानकारी दिइन् । सहकारीको छनोट र कार्यविधि बनिसकेपछि रत्ननगरलाई तरकारीको पकेट क्षेत्र बनाउन कति बजेट आवश्यक पर्छ भन्ने यकिन त्यसपछि हुने भन्दै नगरपालिकाले सहकारीको छनोट गरिसकेपछि तिहारलगत्तै काम सुरू हुने अर्यालले बताइन् । मेयर नारायण वनले नेपाल सरकारले सुरू गरेको सहकारी बजार विकास कार्यक्रममार्फत नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, उनले भने, ‘हामीले गर्न चाहेको कुरासँग सम्झौता गर्न सफल भएका छौँ ।’ उनले किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार रहेको बताए । सहकारी बजार विकास कार्यक्रम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडीपीको सहकारीमा सञ्चालित कार्यक्रम हो । कार्यक्रममा नगरपालिकाको तर्फबाट उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मी, प्रशासकीय अधिकृत संगम सापकोटा, कृषि समितिका संयोजक गोविन्द भट्टराई, प्रवक्ता सरस्वती लामा र सहकारी बजार विकास कार्यक्रमको तर्फबाट बजार विषय विज्ञ वन्दना अर्यालको सहभागिता रहेको थियो ।