काठमाण्डौको मुलपानीमा भि.आई.पि.जुवाखालमा प्रहरी अपरेशन

भागदौड हुँदा दुई जनाको मृत्यु, नाइके युवती फरार

२० असोज, काठमाडौं । राजधानी काठमाडौंको मुलपानीमा गएराति प्रहरीले भि.आई.पि.जुवाखाल अप्रेशन गरेको छ । अप्रेशनको क्रममा जुवाडेहरुको भागदौड हुँदा दुई जनाको मृत्यु हुन पुगेको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
गोप्य श्रोतले दिएको सूचनाको आधारमा काठमाण्डौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाईराखिएको घरमा पुग्ने वित्तिकै जुवाडेहरुविच भागदौंड मच्चीएको थियो । त्यसक्रममा तिन तलामाथीको झ्यालबाट हाम फाल्दा दुई जनाको मृत्यु भएको हो ।
‘३ तले घरमा भित्र छिर्ने वित्तिकै एउटा चेन गेट रहेछ । त्यहाँ प्रहरीले चाबी खोलेर भित्र जान खोज्दा जुवाडेले हाम्रो टोली आएको चाल पाए’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले भने, ‘त्यसपछि त्यहाँ भागाभाग भएको थियो । त्यही क्रममा तेस्रो तलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको हो ।’
घर बाहिर रहेको सादा पोशाकका प्रहरीले दुई जना व्यक्तिले हामफालेको चाल पाएलगत्तै उनीहरुलाई प्रहरीको भ्यानमा हस्पिटलसम्म पु¥याएको थियो । तर, ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारको क्रममा उनीहरूको राति नै मृत्यु भयो ।
यसैविच, प्रहरीले सो जुवाको खालबाट २३ जनालाई पक्राउ गरेको जनाएको छ भने उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको जानकारी दिएको छ ।
तर, जुवाखाल सञ्चालन गर्ने मुख्य नाइके एक महिला भने भाग्न सफल भएकी छन । प्रहरीका अुनसार बौद्ध क्षेत्रको विभिन्न स्थानमा हरेक दिन भिन्नभिन्न घरमा जुवा खेलाइँदै आएको थियो ।

त्यसको नाइके हेमा गुरुङ थिइन, । उनले लामो समयदेखि जुवा खेलाउँदै आएको प्रहरी स्रोत बताउँछ ।
‘दुई जना घाइते भएपछि प्रहरीको एउटा समूह उद्दारमा जुट्दा उनी उम्कन सफल भएको प्रहरीले जनाएको छ । ‘त्यही कारण रकम पनि कम बरामद भएको प्रहरी भनाई छ ।
प्रहरीले जुवाडेको एउटा कार र १० वटा मोटरसाइकल पनि बरामद गरेको छ ।
जुवा खेलेको घरमा एक पटकको १० हजार रुपैयाँ दिइने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले घरबेटीलाई पनि पक्राउ गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।