अस्पतालबाट निस्किएको फोहोरजन्य बस्तुहरुको व्यवस्थापनमा चुनौती ।
चितवन , १७ असोज । मानव स्वास्थ्यका साथै वातावरणीय रुपमा बढी प्रभाव पार्ने अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन समयमै हुन नसक्दा जिल्लाका बिभिन्न अस्पतालहरुमा फोहोरजन्य बस्तुहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरका सबैजसो अस्पतालहरुको अनुगमन गरेपछि यस्तो चेतावनी दिइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा श्यामसुन्दर ढकालले भने, ‘यसको जिम्मेवारी अस्पताल स्वयम्ले नै लिनुपर्छ, अन्य निकायले आवश्यक पर्दा सहयोग गर्ने हो ।’ खासमा कुनै पनि अस्पतालले आफ्नो अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन आफैँले गर्नुपर्छ । ‘तर, यहाँ कुनै पनि अस्पतालले फोहोर व्यवस्थापन गरेको पाइएन’, उनले भने । सबैभन्दा घातक मानिने क्यान्सरका बिरामीलाई लगाइने केमोजन्य फोहोरको व्यवस्थापनमा सबैभन्दा बढी समस्या रहेको बताए ।