नवलपरासीका होटेलहरुमा छापाः यौन क्रियाकलापमा संलग्न तीन पक्राउ
नवलपरासी, असोज १७–
पश्चिम नवलपरासीको सुनवलबाट अबैध रुपमा यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जोडी र अवैध क्रियाकलाप गराउने होटल सञ्चालक सहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला बजार अनुगमन समितिको टोली सुनवल बजारको अनुगमन गर्न गएका बेला सुनवल–४ स्थित ड्रिम रेष्टुरेण्ट एण्ड होटलमा अवैध क्रियाकलाप भईरहेको जानकारी आएपछि अनुगमन समितिले प्रहरीको सहयोगमा होटलमा छापा हानेको थियो । सो क्रममा अर्घाखाँची घर बताउने एक जोडी युवा युवती रंगेहात पक्राउ परेको र आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय सुनवललाई जिम्मा लगाईएको अनुगमनको नेतृत्व गरेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।
प्रहरीले अवैध यौन क्रियाकलापमा संलग्न रहेको अभियोगमा एक जोडी युवा सहित होटल संचालकलाई पनि नियन्त्रणमा लिएको ईप्रका सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । यसैगरी सुनवलकै मामा भान्जा रेष्टुरेण्ट एण्ड होटल तथा पाल्पाली रेष्टुरेण्टमा पनि अनुगमन गरिएको थियो ।
यसैबीच संयुक्त बजार अनुगमन समिति नवलपरासीले सुनवल बजारमा अनुगमन गरी ठूलो परिमाणमा म्याद नागेका पेय पदार्थ तथा लेभल नभएका खाद्य वस्तुहरु जफत गरि नष्ट गरेको छ । सुनवलको वडा नं। ४ मा रहेका श्रेष्ठ किराना पसल, शिवधमाका ईन्टरप्राईजेज, सोनी सप्लायर्स, विकास ईन्टरप्राईजेज, नवराज किराना स्टोर्स तथा सुनवल १ मा रहेका तमु जनरल स्टोर्समा अनुगमन गरेको अनुगमनमा सहभागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।
अनुगमनको क्रममा म्याद नागेका कोक, पेप्सी, फेन्टा, जुस २ सय ६० लिटर, रेडबुल ६ लिटर, ध्यू १३ के।जी।, बदाम ९ के।जी।,दालमोठ एक प्याकेट, सोडा १२ पीस जफत गरिएको छ भने लेभल नभएका किसमिस ९ प्याकेट, पाउरोटी चार प्याकेट, छोहडा २ के।जी।, मुमको दाल डेढ के।जी।, भट्टमास ३ के।जी।जफत गरिएको अनुगमन निरिक्षक एवं घरेलु कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।
पौडेलको नेतृत्वमा रहेको अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेश सुवेदी, विश्वास पंगेनी, सुनवल नगरपालिकाका प्रतिनिधि खेमराज अवस्थी, उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, उपभोक्ता हित संरक्षण मञ्चका मोहन पौडेल, ईलका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विक सहित प्रहरी तथा पत्रकारहरुको पनि सहभागिता रहेको थियो । यसअघि सोमबार रामग्राम वडा नं ६ र १० मा अनुगमन गरिएको थियो ।