चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आफू खुशी चल्दै

कामदारको पदपूर्तिमा राम्रालाइ होइनन्, हाम्रालाइ छानिदै 

चितवन , १० असोज । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पछिल्लो समय आफू खुशी चलेको पाइएको छ । कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको लापरबाहीले अस्पतालको साख गिर्ने निश्चित भएको छ। अस्पतालका प्रशासक, कर्मचारी र राजनीतिक व्यक्तिहरुको सिफारिसमा डा. आचार्यले अहिले अस्पतालमा रिक्त रहेको भनी माग भएको कामदारको पदपूर्ति मनपरी ढंगले गरेको तथ्य बाहिरिएको छ ।  स्रोतले दिएको जानकारी अनुसार अहिले भित्र भित्रै २५ जना कामदारलाई उनलाई दैनिक ज्यालादारीमा घुसाएको छ । आवेदन दिएको ७ महिलासम्म गुपचुप बसेका उनले अन्ततः असोज महिनामा आएर भनसुन, दबाब र पहुँचका आधारमा आफ्ना मान्छेलाई जागिर खुवाएका छन् ।  आवेदन लिएर पनि अन्तिम समयमा स्थगित गरेका डा. आचार्यले अहिले आएर खुसुखुसु नयाँ कर्मचारी भर्ना गरिरहेका छन् । उनले मनपरी कामदार भर्ती गर्दा आवेदकहरु भने अन्यायमा परेका छन्–स्रोतले भन्यो । गत, फागुन महिनामा २५ जना कामदारको मागसहित विज्ञापन आह्वान गरिएकोमा १ हजार ४३१ जनाको आवेदन परेको अस्पतालले जनाएको छ । अस्पतालले तत्काललाई नयाँ भर्ना नलिने भनेपछि आवेदकबाट लिइएको शुल्क पनि फिर्ता गरेको थियो । कतिपयले फिर्ता रकम समेत लिन नआएको बताइएको छ । ‘हामीले पनि ठेक्काबाट कर्मचारी लिने भनेका थियौँ, तर अहिलेलाई सम्भव भएन’, कार्यकारी निर्देशक डा. आचार्यले भने, ‘त्यसपछि हामीले ज्यालादारीमा लिएका हौँ ।’ हाल भर्ना गरिएका कर्मचारीबाट पछि समस्या नआउनेमा आफू ढुक्क रहेको उनले बताए । सरकारको नियमअनुसार नै हाल दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरिएको उनले स्वीकार गरे । अस्पतालको भौतिक र प्रशासनिक सुधार गरेको दाबी गर्दै आएका कार्यकारी निर्देशक कामदार भर्नामा भने चुकेका छन् । अस्पतालको इतिहासमै पहिलोपटक खुला विज्ञापनमार्फत तल्लो तहको कर्मचारी माग गरिएको थियो । त्यतिखेर नै तत्कालीन एमालेनिकटहरुले यसलाई राजनीतिक भर्तीको विषय भन्दै उनीविरूद्ध खनिएका थिए । फागुन २४ गतेको अन्तर्वार्ता भनी २० गते आवेदकहरु लाई प्रवेशपत्र बाँड्दै गर्दा बीचमै रोकिएको थियो । कार्यकारी निर्देशक डा. आचार्यले दबाब थेग्न नसकेपछि अन्तर्वार्ता स्थगित भएको बताएका थिए । यता, अस्पतालका कार्यकारी निर्देशक डा. आचार्यले खुला प्रतिस्पर्धाबाट कामदार भर्नामा आफूले निष्पक्षता अपनाउने भन्दै यसमा शंका नगर्न गत फागुनमा पत्रकारहरुसँग भनेका थिए । ‘यसअघिका कार्यकारी निर्देशकहरुले मनपरीरुपमा कामदार घुसाउँथे, मैले कम्तीमा पनि लिखित परीक्षा नलिए पनि अन्तर्वार्ता लिएर राखौँ भनेको छु’, उनले भने । अन्तर्वार्ताबाट कर्मचारी राख्दा केही भने पनि निष्पक्ष हुने उनको दाबी थियो । तर, अहिले आएर उनलाई त्यसबेलाको आफ्नै बोली पासो भएको छ ।