राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु पुनः आन्दोलनमा उत्रिए

आन्दोलन गर्नुको कुनै अर्थ छैन : महानगरपालिका ।

 


चितवन ,१३ असोज । राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु बुधबारदेखि पुनः आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगरले राजमार्गमा चल्न नदिएपछि आफ्नु जीविका चलाउन नै मुश्किल भएको र महानगरको यो निर्णय अलोकतान्त्रिक हुनुका साथै गरिबी जनता मारा भएको भन्दै तत्कालै आफ्नो निर्णय सच्याउन उनीहरुले केही दिनदेखि दवाव दिन थालेका छन् । बुधबारदेखि आ ( आफ्ना सवारीसाधनहरु थन्क्याएर वार्ताको लागि पहलमा जुटीरहेका सवारीचालक मजदुरहरुले शुक्रबार दिनभर भरतपुर महानगर अगाडी सवारी राखेर उनीहरुले चर्को नाराबाजी समेत गरेका थिए । मुख्य राजमार्ग बाहेकका राजमार्गमा मात्रै चलाउँदा परिवार पाल्न समेत मुस्किल भएको मजदुरहरुको गुनासो छ । ‘एक जनाको भरमा सिंगो परिवार पाल्नुपर्ने बाध्यता छ’, चालक विश्वराज अधिकारीले भने, ‘त्यसैले, हामी लाई कुनै पनि बाटोमा अवरोध गर्न पाइँदैन ।’ महानगरले मुख्य राजमार्गबाट धपाएर गरिब जनतामाथि अन्याय गरिरहेको उनले बताए । ‘हाम्रो सानो लगानी पनि डुब्ने स्थितिमा पुग्यो’, उनले भने, ‘लगानी डुब्नबाट जोगाउनका लागि पनि हामीलाई खुला रुपमा चल्न दिनुपर्छ ।’ भित्री सडकहरुमा यात्रु नै नपाइने हुँदा आफूहरुलाई साँझ–बिहानको छाक टार्नसमेत मुस्किल परेको अर्का चालक लोकनारायण श्रेष्ठको भनाइ छ । ‘मान्छेहरु कतै जान परे पनि मुख्य सडकमै निस्कन्छन्’, उनी भन्छन्, ‘त्यसैले गर्दा हाम्रो पेसा संकटमा पर्‍यो ।’ यात्रुको सहजतालाई हेरेर पनि मुख्य सडकमा चलाउन दिनुपर्ने उनको भनाइ छ । ‘मुख्य राजमार्गमा चलाउन नदिएपछि भित्रभित्रै घुमेर जाँदा यात्रुलाई भाडा पनि बढी पर्छ’, उनले भने, ‘कहिलेकाहीँ बिरामीलाई अस्पतालसम्म लैजान पनि समस्या छ ।’ बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर आफ्ना गुनासो राखेका चालक मजदुरले भरतपुरको चौविसकोठीदेखि महानगरपालिका कार्यालय गेट सम्म नाराबाजी गर्दै आफ्ना माग पुरा गर्न दवाव दिएका हुन् । शान्तिपूर्ण विरोध प्रदर्शनको संयोजन गरेका तीन पांग्रे सवारी चालक पिताम्बर पौडेलले मुख्य राजमार्गमा नै चल्न नपाउँदा मजदुरको रोजीरोटी खोसिएको बताए । मूल सडकमा चल्न पाउँदा दैनिक २ हजार सम्म कमाई हुने गरेपनि हाल मुश्किलले १ हजार रुपैंया मात्रै कमाई हुने गरेको गुनासो गरे । “हामीले निर्वाध चल्न पाउनुपर्छ भनेका छैनौं”, उनले भने, “कम्तीमा मुख्य बजारको क्षेत्रमा एउटा लेनको व्यवस्था गरे स्वरोजगार हुन चाहेका हामीलाई गाहे हुने थिएन ।” चौविसकोठीदेखि पुल्चोक , लायन्सचोक पुल्चोक देखि रामनगर र केन्द्रीय बस ट्रर्मिनलदेखि टाँडी सम्म चल्ने वातावरण मिलाउन माग गरिएको उनले बताए । अखिल नेपाल इ–रिक्सा मजदुर संगठनका सुर्दशन बजगाईंले आफूहरुले महानगरपालिका समक्ष भरतपुरको डेढ किलो मिटर मूख्य राजमार्गमा एक महिनाका लागी अटो रिक्सा चल्न पाउनु पर्ने भनिए पनि मागप्रति बेवास्ता गरेपछी आफूहरु आन्दोलनमा उत्रनुपरेको बताए । भरतपुर महानगरपालिकाले दुई महिनाअघि मूख्य राजमार्गको ११ किलोमिटर क्षेत्रमा तीन पाँग्रे सवारीसाधन संचालन गर्नमा रोक लगाएको थियो । त्यसपछि चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर अटो रिक्सा चालक महेन्द्र सुनार गम्भीर घाईते भएका थिए । आन्दोलनमा उत्रिएका चालकहरुले महेन्द्रको परिवारलाई क्षतिपुर्ती दिन माग समेत गरेका थिए । विरोध प्रदर्शन स्वरुपमा उनीहरुले निधारमा कालोपट्टी बाँधेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

बैंकको ऋण कसरी चुक्ता गर्ने : सवारी चालक 
एक वर्ष अघि बैंकबाट ऋण लिएर अटो किनेका गैंडाकोटका सूर्य बहादुर कुमालले मासिक ९ हजार रुपैयाँ बैंकमा बुझाउनुपर्ने बताए । राजमार्गमा चल्न पाउँदा दैनिक २५ सय रुपैंया सम्म कमाई गर्ने उनले अहिले एक हजार रुपैयाँ समेत मुश्किलले कमाई हुने उनले बताए । ८ जनाको उनको परिवारमा उनी बाहेक उनकी आमा पनि मजदुरी गर्छिन् । विदेश नजाने सोचले स्वदेशमै विभिन्न क्षेत्रमा मेहेनत मजदुरी गर्दै आएका कुमाललाई बैकबाट ऋण लिएर सुरु गरेको स्वरोजगार अहिले निल्नु न ओकल्नु भएको छ । “विदेश जान्न परिवार संगै बस्छु दुख गरेपनि यहीँ नै गर्छु भनेर ऋण लिएर अटो किनेको थिएँ”, उनले मलिन अनुहारमा भने, “ विदेश नगए हामी दुखी लाई त भात खान पनि नपुग्ने रहेछ ।”कुमालकै जस्तो अर्का तीन पांग्रे सवारी चालक अर्जुन श्रेष्ठको ब्यथा पनि उस्तै छ । मासिक १५ हजार बैंकको व्याज बुझाएर बांँकी रहेको कमाई बाट ४ जनाको परिवार धानेर बचत समेत गर्ने उनको योजना अहिले तुहिएको छ । “राजमार्गमा चल्न पाउँदा यात्रुको कमी हुन्थेन , अहिले त बकुल्लाले माछा कुरे जस्तो यात्रु कुर्नुपर्छ अनि कसरी कमाई हुन्छ रु” उनले प्रश्न गरे । महानगरले आफु जस्ता थुप्रै मजदुरको जीवनयापन कष्टकर बनाइदिएको उनले गुनासो गरे । चितवनमा ३ सय ३५ को हाराहारीमा तीन पांग्रे सवारी साधन चलिरहेका छन् । ती मध्य करिव १ हजार ५ सय सवारी चालकको आन्दोलनमा सहभागि भएका थिए । अधिकांश सवारी चालकले बैकबाट ऋण लिएर पनि सवारी साधन किनेर चलाएका छन् । विदेश गएर फर्किएका, विदेशमा भन्दा स्वदेशमै केही गरौं भनि हौसिएका निम्न वर्गिय सर्वसाधारणलाई भरतपुर महानगरको निर्णयले असहज बनाएको मजदुरहरुको गुनासो छ ।

माग पूरा नभए हामी चुप लागेर बस्दैनौं : ट्रेड युनियन कांग्रेस 
यता, भरतपुर महानगरपालिका र ट्रेड युनियन कांँग्रेस बीच जुहारी नै चलेको छ । महानगर निर्णयविरुद्ध पछि नहट्ने बताउँछन् भने, ट्रेड युनियन कांँग्रेस जसरी भए पनि निर्णय बदर गरेरै छाड्ने बताउँछन् । यी दुइको जुहारीले यात्रुलाई सकस हुने प्रायः निश्चित छ । जिफन्ट, ट्रेड युनियन महासंघ र ट्रेड युनियन नेपाली कांँग्रेसका मजदुरले संयुक्त आन्दोलन गरिरहेको भन्दै तत्कालै आफ्ना माग पुरा नभए आन्दोलनका सशक्त कार्यक्रम तय गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् । तत्कालका लागी उनीहरुले शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि बाट महानगरपालिकाको गेटसम्म विरोध र्‍याली निकालेका छन् । भोलि आइतबार १२ बजेसम्म माग पुरा नभए आन्दोलनले चर्को रुप लिने ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरिहर सापकोटाले बताउँछन् ।

आन्दोलन गर्नुको कुनै अर्थ छैन : महानगरपालिका ।
यता, भरतपुर महानगरपालिकाले भने अटो चालक मजदुरहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको बताएको छ । साउन ५ गतेदेखि नै मुख्य राजमार्गमा चल्न नदिने निर्णय गरेको भरतपुर महानगरले साउन ७ गतेदेखि पूर्णरुपमै मुख्य सडकमा चल्न रोक लगाएको थियो । ‘निर्णय कार्यान्वयन भइसकेको दुई महिनापछि आन्दोलन गर्नुको कुनै अर्थ छैन’, महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘कार्यान्वयन भइसकेको निर्णयबाट महानगर कुनै पनि हालतमा पछि हट्दैन ।’ महानगरले भावी दिनमा छ लेनको सडक बनाउने योजना बनाएको जानकारी गराउँदै उनले भनिन्, ‘हाम्रो सपना पूरा भएपछि सोच्न सकिन्छ, अहिलेको अवस्थामा यही बाटो साँघुरो भइरहेको छ ।’ नयाँ अटो ट्याम्पो भित्रन नदिनका लागि केही महिना पहिले नै भौतिक मन्त्रालय र यातायात व्यवस्था विभागलाई महानगरले पत्राचार गरिसकेकोले नयाँ ट्याम्पो आउन समेत बन्द भइसकेको उनले दाबी गरिन् । ‘अहिले चलिरहेका ट्याम्पोहरु मात्रै हुन्’, उनले भनिन्, ‘नयाँ आउन बन्द भइसकेकाले बिस्तारै यसको संख्या पनि कम हुँदै जान्छ ।’ गत, साउनमा ट्याम्पो चालकले गरेको आन्दोलनमा गोली चल्दा एक जना मजदुर घाइते भएका थिए । महानगरले १४ वटा चोकहरुमा क्रसिङ प्वाइन्ट तोकेको थियो । तर, क्रसिङ प्वाइन्ट थप गर्न माग गरेपछि १८ वटा चोकमा क्रसिङ प्वाइन्ट तोकिएको उनले बताइन् । ‘पुल्चोकबाट गैँडाकोट जान पाउनुपर्छ भने हामीले दियौँ, रामनगर जान पनि दिनुपर्छ भने हामीले त्यो पनि दियौँ, टाँडी पनि जान पाउनुपर्छ भने त्यो पनि मान्यौँ’, उनले भनिन्, ‘त्यसैले महानगरलाई पेल्न खोजिएको मात्रै हो, अरु केही होइन ।’