चितवन जिल्ला अदालतमा ९५ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता

 चितवन , ८ असोज । वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु भनेकै सम्बन्ध बिच्छेद हो । हिजोआज नेपाली समाजमा सम्बन्ध बिच्छेदका घटना अधिक हुने गरेका छन् । उच्च तनाव अथवा खटपटी एकाघरमा पतिपत्नीसँगै बस्न नसक्नु, पत्नीसँग पति खुसी नहुनु, असमझदारीको उच्चतम अवस्था कानुनी हिसाबबाट दुवै अलग-अलग हुनु नै सम्बन्ध बिच्छेद हो । बाल विवाह, बहु विवाह, अनमेल विवाह, अन्तर्जातीय पे्रम विवाह, असमझदारी, अपहेलना, गरिबी, सम्पत्ति, रोग, निःसन्तान एवं शंकालु भावनालगायत विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउँछ । श्रीमान श्रीमतीको जोड्नुपर्ने उक्त सम्बन्धलाई बिच्छेद गर्नु पर्दा कस्तो होला । तर, दुर्भाग्य चितवन जिल्ला अदालतमा एक अर्कालाई बुझ्न नसक्दा औसतमा दैनिक ३ जोडीले सम्बन्धविच्छेदका लागी निवेदन दिने गरेका छन् । एक महिनाकै अवधीमा कुल ९५ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको छ । जसमध्ये पुरूष तर्फबाट ३८ र महिला तर्फबाट ५७ वटा मुद्दा दर्ता भएका छन् ।  वार्षिकरुपमा हेर्ने हो भने यो संख्या १ हजार १४० हुन आउँछ । आर्थिक वर्ष ०७४/०७५ मा यो संख्या ७०७ मात्र रहेको छ भने , यहीं अनुपातमा मासिकरुपमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएमा गत वर्षभन्दा चालू वर्षमा झन्डै दोब्बर हुन आउने अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । पौडेलका अनुसार सरकारले भाद्र १ गतेदेखी लागू गरेको नयाँ कानुन अनुसार  सम्बन्धविच्छेदका लागि पुरूषले पनि सीधै अदालतमा मुद्दा हाल्न सक्ने व्यवस्था गरेपछि यही कानुनको प्रयोग गर्दै पुरूषहरु पनि अदालत धाउन थालेका छन् । पुरूषले सम्बन्धविच्छेद चाहेमा यसअघि वडा, स्थानीय तह हुँदै जानुपर्ने व्यवस्था कानुनमा थियो । अहिले सीधै अदालतको ढोका खुलेपछि दैनिक पुरूषहरुको निवेदन पर्न थालेको छ । यसअघि महिलाले चाहेमा मात्र सीधै अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता हुन्थ्यो ।
किन हुन्छ सम्बन्धविच्छेद ?
स्वयं महिलाहरूको कुरालाई सुन्ने हो भने सम्बन्धविच्छेदका घटना दर्ता बढ्नुमा आर्थिक, सामाजिक, पारिवारिक नै मुख्य कारण देखिएका छन् । शारीरिक र मानसिक हिंसाका कारण सम्बन्ध टुटाउन अदालतसम्म आइपुगेको महिलाहरु बताउँछन् । उता , समाजशास्त्रका प्राध्यापक होमनाथ अधिकारी भन्छन्, ‘आर्थिक, सामाजिकजस्ता कारणले समाजमा सम्बन्ध अन्त्य गर्नेहरु पनि छन् ।’ सम्बन्धविच्छेदका कारण पारिवारिक विखण्डन हुने गरेको छ । बढ्दो आधुनिकीकरणको कारणले पनि यस्ता घटना बढिरहेको उनको टिप्पणी छ । श्रीमान्श्रीमती मात्र भएको परिवारमा भन्दा बालबालिकाहरु समेत भएको परिवार सम्बन्धविच्छेदको कारणबाट बढी प्रभावित हुने गरेका छन् । विखण्डित परिवारका सदस्यहरुमा मानसिक समस्या पनि देखिने गरेको छ । उता, बढ्दो सम्बन्ध बिच्छेदमा मलजल अहिलेको उर्लंदो वैदेशिक रोजगार पनि हो । हिजोआज विभिन्न मुलुक के महिला के पुरुष, विदेशिनेको संख्या उच्च हँदै गइरहेको छ । कतिलाई पतिले धोका दिएका छन् त कतिलाई पत्नीले भने कतिले शंकाको भरमा घर उजाड बनाएका छन् । कमाउन जानेहरूका दुःख पीडा एकातिर छन् फजुल खर्च गर्नेहरूको चरित्र अर्कोतिर अनि यी दुवैखाले चरित्रको चेपुवामा लालाबाला, वृद्धवृद्धा भोकभोकै मरिरहेका छन् । देशमा रहेका युवाशक्तिको जोस जाँगर तथा सीप पलायन भइरहेको छ । यसको सीधा असर परिवारमै परेको छ । एकढिक्का भएर बाँच्नुपर्ने परिवार खण्ड-खण्ड भएर बाँच्न बाध्य छ । यसतर्फ जतिसक्दो चाँडो राज्यको ध्यान जान जरुरी देखिन्छ । राज्यले विदेश पलायन रोक्न आफ्नो देशमा रोजगारीको वातावरण सिर्जना गरेर युवा सीप अनि जाँगरलाई आफ्नो पन्जामा राख्न सक्नुपर्छ । त्यसो भएमा पारिवारिक निकटता कायम रहिरहन्छ । अभिभावकको संरक्षण पाउनुपर्ने सबैले त्यो पनि पाइरहन्छन् । समाज समृद्धि बन्दै जादाँ घरघरको अनिष्टता पनि टर्दै जान्छ ।हो, अहिलेका महिला स्वयं समृद्धिको बाटोतर्फ अघि बढ्दै छन् । परम्परागत भूमिकालाई तोड्दैछन् । तर, त्यसो हुुँदैमा   महिलाले एकैपटक ठूलै स्वतन्त्रता उपभोग गर्न खोज्नु, आफू ‘भुइँमा न भाँडामा’ भएको ठहर्ने गरी चाहिने नचाहिने कुरामा विभिन्न खाले तर्क गर्दै जानाजान सम्बन्ध बिगारेर आफू अलग हुने निर्णय लिनु पक्कै जायज होइन । पुरुषले पनि महिलाको बदलिँदो भूमिकालाई अस्वीकार गर्नु, उनीहरूको क्षमताको पहिचान र कदर गर्न हिच्किचाउनु, मन छोटो बनाउनु न्यायोचित हुुँदैन । संसारको चक्र सही मार्गमा चल्न पतिपत्नी ‘एकरथका दुई पांग्रा’ हुनैपर्छ । राजिखुसी, हाँसीखुसी रहनुपर्ने जीवनको सम्बन्ध टुट्नु, आपसी वैमनष्य बढेर साथ छुट्नु जीवनको अभिशाप हो । कलंक हो,मुक्ति होइन । सन्तान दर सन्तानको खुशी , परिवारको खुशी कुनैमा कदापि कलंक विजारोपण हुनु हुँदैन । कानुनले सजिलो बनायो भन्दैमा त्यसको दुरुपयोग गरी आफू र सन्तानलाई सदाको पीडा, दुःखमा नहेलियोस् भन्ने हेक्का सबैले राख्नुपर्छ ।
 
कानुनी व्यवस्था ।
कानुनमा उल्लेख भएको सम्बन्धविच्छेदसम्बन्धी व्यवस्थामा पति वा पत्नीले आपसी मञ्जुरीमा सम्बन्धविच्छेद गर्न सक्ने उल्लेख छ । दुवैको मञ्जुरीविनै पनि दुवैले मुद्दा हाल्न सक्नेछन् । श्रीमान्श्रीमती ३ वर्षसम्म अलग बसेमा, पत्नीले पतिलाई वा पतिले पत्नीलाई खान–लाउन नदिई घरबाट निकालेमा, पतिले वा पत्नीले एकअर्काको अंगभंग गरेमा, जालझेल र प्रपञ्च गरेमा, पति वा पत्नीले अन्यसँग शारीरिक सम्बन्ध राखेको पुष्टि भएमा दुवैले सम्बन्धविच्छेदको मुद्दा हाल्न सक्नेछन् । पतिले अर्कै बिहे गरेमा पनि र पतिले पत्नीलाई वैवाहिक जबर्जस्ती करणी गरेको भएमा पनि यसका आधारमा सम्बन्धविच्छेदको मुद्दा हाल्न सक्ने नयाँ कानुनमा व्यवस्था रहेको छ ।