कार्यकर्ता हत्याको बिरोधमा चितवनमा तरुण दलले प्रजिअ समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझायो ।
चितवन , २७ भाद्र । अज्ञात समुहको गोली प्रहारबाट आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै नेपाल तरुण दल चितवनले जिल्ला प्रशासन कार्यालय चितवन घेराउ तथा प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारसहित ज्ञापन पत्र बुझाउन पुगेको टोलीले नेपाल तरुण रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या गर्ने बास्तबिक हत्यारालाई कार्वाही गर्न माग राख्दै केन्द्रीय कार्यक्रम अनुसार नै उनीहरुले सरकारको ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सत्ताको आडमा भएको हत्या भएको आरोप लगाउँदै सरकारले अपराधीलाई संरक्षण गर्न खोजेको उल्लेख गरिएको छ । साथै, जनताको जीउधनको सुरक्षा गरी अमन चयन कायम गर्न समेत सरकारसंँग माग गरेको छ । साथै, हत्या गरिएका पुनलाई सहिद घोषणा गरी दोषीलाई कारबाही र मृृृतकका परिवारलाई क्षतिपूर्तिको माग समेत गरिएको छ । तरुण दलको ज्ञापन पत्र वुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको शान्ति सुरक्षाका लागि स्थानीय प्रशासन तयार रहेको बताए । तरुण दलको माग जायज रहेको भन्दै उनले यसलाई तत्कालै सम्बन्धित निकायमा पठाउने समेत प्रतिवद्धता व्यक्त गरे ।