२० हजार रुपैयाँ घुस सहित कार्यालय सहयोगी पक्राउ ।

चितवन , १२ भाद्र । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी २० हजार नगद रुपैंया घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बिद्युत वितरण केन्द्रका कार्यालय सहयोगी कृष्ण बहादुर सुवेदी लाई घुस लिएको रकम गन्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । सुबेदीले भरतपुर ७ कृष्णपुरमा रहेको जीवनज्योती मिनरल वाटर एण्ड वेभरेज उद्योगको प्रशारण लाइनमा समस्या आएपछि मर्मतका लागि खबर गर्दा घुस मागेको उद्योगका सञ्चालक नवराज खनियाँले जानकारी दिए । प्रशारण लाइनमा समस्या देखिएपछि उद्योग सञ्चालनमा कठिनाई आएकाले मर्मतका लागि पटक पटक अनुरोध गरेपनि घुस नदिएकै कारण काम हुन नसकेको खनियाँ बताउँछन् । पक्राउ परेका सुवेदीलाई आयोगको टोलीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।