चितवनमा सवारी दुर्घटना बढ्यो
२२ दुर्घटनामा २१ जना ठहरै ।
फाईल फोटो
चितवन , १२ भाद्र । जिल्लामा साउन महिनामा भएको २२ सवारी दुर्घटनामा २१ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्यांक अनुसार जिल्लामा भएको सवारी दुर्घटनाबाट एक महिनाको अवधिमा २१ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको हो । जिल्लामा सवारी दुर्घटना भयावह बनेसँगै ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघ संस्थासँग मिलेर दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक प्लेकार्ड प्रदर्शनका कार्यक्रमहरु चितवनको विभिन्न ठाउँठाउँमा गरिरहेको जनाएको छ । भरतपुर महानगरसँग मिलेर १३ वटा चोकमा स्मार्ट ट्राफिक आइल्याण्ड समेत निर्माण गरेको छ । चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट जस्ता कार्यक्रम पनि प्रहरीले सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साउन महिनाभर १६ पटक ३४० जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रशिक्षण कक्षामा प्रशिक्षण दिइएको प्रहरीले जनाएको छ । यस्तै , ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार ट्राफिक नियम उल्लंघनमा तीन हजार २०० वटा सवारी कारबाहीमा परेका छन् । कारबाहीबाट ट्राफिक प्रहरीले २३ लाख ४० हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।