बुधबारको आन्दोलनमा ट्रेड युनियनको काँग्रेसका हात रहेको खुलासा
प्रहरी दमनप्रति राप्रपा चिन्तित
चितवन , १० साउन । तनाव हुने गरी चितवनमा भएको बुधबारको आन्दोलनमा नेपाल ट्रेड युनियन काँग्रेसको हात रहेको खुल्नमा आएको छ । चितवन प्रहरीले कांँग्रेस नेतृत्वको नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य लक्ष्मण भट्टराईलगायतका २८ जना मजदुरहरुलाई पक्राउ गरेपछि कांग्रेस निकटकै ट्रेड युनियनको डिजाइनरमा उक्त घट्ना घट्न पुगेको सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार केन्द्रीय सदस्य भट्टराईकै नेतृत्वमा हिंस्रक आन्दोलन हुन पुगेकोले उनलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ गरिएको बताए । अटो र इरिक्सा मजदुरहरुले भरतपुर महानगरपालिका ले मूख्य राजमार्गमा चल्न नदिने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका थिए । सो , क्रममा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको प्रहरी बिटमा तोडफोड गर्नुको साथै एउटा मोटरसाईकलमा आगजनी गर्दै कार र म्याजिकमा समेत तोडफोड गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली सम्म चलाउनुपरेको थियो । गोली लागेर अटो रिक्सा चालक गैंडाकोटका महेन्द्र सुनार घाईते भएका छन् भने , झडपको क्रममा २४ प्रहरी र दुइ प्रदर्शनकारी घाईते भएका थिए । बुधबारको घट्नामा स्थितीलाइ नियन्त्रणमा लिन प्रहरीले एक सय सेल अश्रुग्यास प्रहार गरेका थिए भने दस राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।
प्रहरी दमनप्रति राप्रपा चिन्तित ।
यता , भरतपुर उपमहानगरपालिकामा प्रहरीले दमन गरेको भन्दै राप्रपा नेपालले चिन्ता व्यक्त गरेको छ । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बुधबार नै विज्ञप्ति जारी गर्दै बर्तमान सरकार चरम दमन तथा जनहित विरोधी कार्यमा जुटिरहेको भन्दै त्यसतर्फ सजग हुन अपिल गरे । राजमार्गमा तीन पांग्रे सवारी चलाउन रोक लगाएको र आफ्नो रोजीरोटी खोसिएको विरोधमा भएको शान्तिपूर्ण प्रदशर्नमा उत्रिएका नागरिकमाथि प्रहरीले दमन गरेको भन्दै राप्रपाले विरोध जनाएको हो । विज्ञप्तिमा प्रहरीको दमनबाट घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था गरिदिन समेत राप्रपाले आग्रह गरेको छ ।