जिउँदो सालकसहित दुई जना चितवनबाट पक्राउ ।

चितवन , ०२ श्रावण । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले मंगलबार जिउँदो सालकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको ईच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ बजारबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाल्पा जिल्लाको बगनास गाउँपालिका( ३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका – ६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सालकसहित पक्राउ परेको प्रहरीले बताएको छ । पैदल हिडिरहेका बेला प्रेमबहादुर थापाले पछाडि भिरेको झोलामा उक्त सालक फेला पारिएको हो। गोरखा जिल्लाको छेपेटार भन्ने स्थानबाट सालक ल्याई बेचबिखनको लागि काठमाडौंतर्फ लैजान लागेका बेला सालकसहित उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । सालक र पक्राउ परेका दुवैलाई आवश्यक कानुनी कारवाहीको लागी इलाका वन कार्यालय मुग्लिङमा राखिएको छ ।