चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पढाइ एक सातादेखि ठप्प ।
चितवन, ०१ श्रावण । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरु पछिलो एक सातादेखि आन्दोलित छन् । विश्वविद्यालयले निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै चार विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा गएको बुधबारदेखि तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका हुन् ।विश्वविद्यालयका पदाधिकारीहरुले गरेको कार्य निन्दनीय भएको भन्दै विरोध गरिएको छ । विद्यार्थी संगठनले विश्वविद्यालयको कृषि संकाय डिनको कार्यालयमा टायर बालेर विरोध समेत गरेका छन् । विश्वविद्यालयले २०७४ भदौ २ गते भएको संयुक्त विद्यार्थी संगठनहरुसँगको सम्झौता तोडिएको भन्दै विरोध गरेका हुन् । त्यस समय विद्यार्थी संगठनसँग विश्वविद्यालयले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगन गर्ने सम्झौता गरेको थियो । विश्वविद्यालयले सञ्चालन गरेको आंगिक क्याम्पसको शैक्षिक गुणस्तरको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै निजी कलेजलाई सम्बन्धन दिइनु गलत कार्य भएको विद्यार्थीहरुको भनाइ छ । निजी क्याम्पसलाई दिइएको सम्बन्धन खारेज गर्नुपर्ने माग राख्दै संगठनले विश्वविद्यालय अनिश्चितकालीन बन्द गरेका हुन् । सम्बन्धन दिने निर्णयप्रति विश्वविद्यालयको नेपाल प्रगतिशील प्राध्यापक संगठनले समेत विरोध जनाएको छ । यसअघि गत वर्षमा पनि निजीलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले विरोध गर्दा दुई महिनासम्म विश्वविद्यालयमा पठनपाठन बन्द भएको थियो । ४ विद्यार्थी संगठन असार २७ गतेबाट केन्द्रीय कार्यालय रहेको भवनमा दैनिक २ घण्टा धर्नामा बसेका छन् । यस्तै प्राध्यापकका ३ संगठनले पनि कृषि संकायको डिन कार्यालयमा दैनिक १ घण्टा धर्ना सुरु गरेका छन् । “८ कलेजलाई सम्बन्धन दिइएको चर्चा छ । तर, सार्वजनिक गरिएको छैन”, नेपाल प्रगतिशील प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष उदितप्रसाद सिग्देलले भने, “गुपचुप ढंगले प्रक्रिया अगाडि बढाउने काम भएका छन्, सो सम्बन्धन प्रक्रिया खारेज गर्नुपर्छ ।” उनले मापदण्ड पूरा नगरी सम्बन्धन दिन खोजिएको आरोप लगाए । सम्बन्धन दिने, आङ्गिक कलेज खोल्न नियमन गर्न तत्कालै कृषि शिक्षा आयोग गठन गरिनुपर्ने बताए ।“निजीलाई सम्बन्धन दिने बेला आएको छैन, हतार गर्नु हुँदैन”, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष सन्तोष मरहट्टाले भने, “अध्ययन, अनुसन्धान र प्रचार गर्ने कृषि विश्वविद्यालयको मूल मर्म पूरा गर्न नसक्ने कलेजलाई सम्बन्धन दिन हुँदैन ।” उनले विषयगत विश्वविद्यालय भएकाले कृषिसम्बन्धी सबै विषयको नीति निर्माणको केन्द्रमा राखिनुपर्ने मा अन्य विश्वविद्यालयले समेत कृषि पढाउन पाउने गरी निजी कलेजलाई सम्बन्धन दिदै जाँदा कृषि शिक्षामा व्यापारीकरण हावी हुने दावी गरे । विश्वविद्यालयका केही पदाधिकारीले आफू अनुकूलका पक्षको मिलेमतोमा सम्बन्धन दिने प्रक्रिया बढाएको आरोप लागेको छ । दुर्गम क्षेत्रमा रहेका आङ्गिक क्याम्पसमा कम विद्यार्थी रहेको अवस्थामा सदरमुकामका निजी कलेजलाई सम्बन्धन दिएमा विद्यार्थी संख्या झनै घट्ने सम्भावना देखिन्छ । ४ आङ्गिक क्याम्पसमा ५०–५० जना विद्यार्थी अध्ययनरत छन् । अधिकतम ६ लाख रुपैयाँसम्म लिएर पढाउन पाउने गरी निजीलाई सम्बन्धन दिन लागेपछि शैक्षिक शुल्क बढी तिर्नुपर्ने स्रोतको दावी छ । कृषि स्नातकमा सम्बन्धन पाउनेमा गैैंडाकोटको हिमछायाँ कलेज, ललितपुरको भ्याली कृषि क्याम्पस, सुर्खेतको ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस, झापाको पूर्वाञ्चल कृषि क्याम्पस, इटहरीको जीविका कृषि विज्ञान कलेज, परासीको भूमईमा रहेको रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज, कोहलपुरको गोर्खा युनाइटेड पब्लिक स्कूल छन् । यस्तै, वन स्नातकमा गैंडाकोटको सिद्धान्त क्याम्पसले सम्बन्धन पाएको छ । यी कलेजले ५०÷५० विद्यार्थी भर्ना गर्न पाउने छन् । “केन्द्रीय कार्यालय रहेको रामपुरमा १ सय ६५ विद्यार्थी अध्ययनरत छन्”, नेपाल प्रगतिशील प्राध्यापक संगठनका कोषाध्यक्ष सुमन ढकालले भने, “केन्द्रीय विश्वविद्यालयको जनशक्ति र पूर्वाधारसमेत पुगेको छैन, सुरुमा आफै बलियो बन्नुपर्छ ।” पूर्वाधार नै नपुगेका, अध्यययन, अनुसन्धान र प्रसारका गतिविधि गर्नै नसक्नेलाई सम्बन्धन दिएर गुणस्तर नआउने उनको भनाइ छ । “शैक्षिक क्यालेण्डरअनुसारको पढाइ, प्रयोगशाला, पुस्तकालयको स्तरोन्नति, अनुसन्धान र प्रसारलाई परिणाममुखी बनाउन लाग्नुपर्छ”, अनेरास्ववियु रामपुर इकाईका अध्यक्ष हेमराज कठायतले भने, “सम्बन्धन दिएर विश्वविद्यालयप्रति आकर्षण बढ्दैन, घट्छ । महँगो शुल्कमा पढ्ने वातावरण बन्छ ।” प्रत्येक प्रदेशमा आङ्गिक क्याम्पस लाने योजनालाई विश्वविद्यालयले महत्व दिन नसकेको उनले बताए । अघिल्लो वर्ष आशयपत्र बुझाएका दुई दर्जन कलेजबाट १३ वटाले सम्बन्धन लिने प्रक्रियालाई बढाएका थिए । जसमध्ये १० वटालाई कृषि संकायको विद्या परिषद् हुदै विश्वविद्यालय प्राज्ञिक परिषदले २०७४ साउन १४ गते कृषि स्नातक तहमा १० वटालाई सम्बन्धनका लागि कार्यकारी परिषद्मा पेश गरेको थियो । तर, विरोधपछि यो प्रक्रिया स्थगित भयो । विद्यार्थीको चर्को विरोधपछि २०७४ भदौ २ गते विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनबीच ७ बुँदे सहमति बनेको थियो । सो सहमतिपत्रमा विश्वविद्यालयका संकाय तथा आङ्गिक कलेज पूर्णरुपमा सक्षम नहुँदासम्म सम्बन्धनसम्बन्धी प्रक्रिया नबढाउने सहमति भएको थियो । तर, विश्वविद्यालयले पुनः सम्बन्धन दिन लागेपछि विद्यार्थी तथा प्राध्यापक आन्दोलित छन् । सम्बन्धन प्रक्रिया खारेज नभएसम्म आन्दोलन जारी राख्ने पक्षमा छन् ।
आजदेखि प्राध्यापकहरुको पनि धर्ना ।
विभिन्न ४ विद्यार्थी संगठनहरुको संयुक्त आन्दोलनका कारण कारण ६ दिनदेखि पठनपाठन ठप्प भएको कृषि तथा बन विज्ञानविश्व विधालय रामपुर क्याम्पसमा आजदेखि प्राध्यापकहरुले पनि संयुक्तरूपमा धर्ना दिन थालेका छन् । प्रमुख पार्टी निकट ३ वटा प्राध्यापक सगंठनले बिद्यार्थीहरुको आन्दोलनलाई समर्थन गरेको हो । नेपाल प्रगतिशिल प्राध्यापक सगंठन, नेपाल राष्ट्रिय प्राध्यापक सगंठन र नेपाल प्रजातान्त्रिक सघंले आज डिनको कार्यालय अगाडि धर्ना दिएका हुन् ।निजि सम्वन्धनको सम्पुर्ण प्रकृया खारेज गर्नुपर्ने प्राध्यापकहरुको माग छ । आफ्नै शिक्षाको गुणस्तर गर्नुपर्नेमा निजी कलेजलाई सम्वन्धन दिईएको विरोधमा विधार्थीहरू आन्दोलित भएको विद्यार्थी संगठनहरुको भनाई छ । अखिल क्रान्तिकारीका नगेन्द्र दाहालका अनुसार ७ प्रदेशमा सरकारी आगिंक क्याम्पस खोलेर सम्पुर्ण प्रकृया पुर्याएर गुणस्तरीय कृषि शिक्षा प्रदान गर्नुपर्नेमा विश्वविद्यालयले निजी क्याम्पसलाई सम्बन्धन दिनु आपत्तिजनक छ । तर , विश्वविद्यालय प्रशासनले भने आन्दोलन रोक्नका लागि आग्रह गरेको छ।अन्य विश्वविद्यालयहरूले निजी क्याम्पसहरूलाई सम्वन्धन दिने तर , कृषि विश्वविद्यालयले सम्वन्धन नदिँदा कृषि क्षेत्रको निजीकरण नरोकिने रामपुर कृषि विश्वविद्यालयले जनाएको छ । स्थापित सम्पुर्ण कृषि कलेजहरू लाई व्यवस्थित गरि निजीकरण रोक्न कृषि परिषद ९एग्रीकल्चर काउन्सिल० खोल्नुपर्ने विधार्थी सगठंनहरूको माग छ ।
विश्वविद्यालयको निजी सम्वन्धन खारेज नभएसम्म आन्दोलन नरोकिने नेविसंघ रामपुर ईकाइ सभापति मन्दिप पोखरेलले बताउनुभयो । रामपुर कृषि विश्वविद्यालयले प्राज्ञिक बाताबरण बनाउनुपर्नेमा आफैले प्राज्ञिक बतावरण विगार्ने काम गरेको अखिल क्रान्तिकारीका अध्यक्ष किरण रोक्काको भनाइ छ ।