चितवनलाई मेडिकल हवको रुपमा विकास गर्नुपर्ने : मूख्यमन्त्री पौडेल
प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले चितवनलाई मेडिकल हवको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
आज (आईतबार) नेपाल नेत्रज्योती संघ चितवन शाखाको २० औं साधारणसभा तथा अधिवेशनको समुद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले बताएका हुन् । उनले नेपाल सरकारको योजना अनुसार प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्दा आईकियर सेन्टर पनि स्थापना गर्नुपर्नेमा जोड दिए । उनले नेपाल सरकारले स्वास्थ्यका बारेमा विभिन्न कार्यक्रम संचालन गरेता पनि आँखाको क्षेत्रमा भने ध्यान दिन नसकेको बताए । स्वास्थ्य र शिक्षा विना समृद्ध प्रदेश संभव नभएको भन्दै यस तर्फ प्रदेश सरकारको ध्यान केन्द्रीत भएको बताए ।
यसैविच, मूख्यमन्त्री पौडेलले चितवन र मकवानपुरलाई एकीकृत विकास मार्फत जोड्नुपर्ने बताए । प्रदेश सरकार कानुन निर्माणको तहमा नै रहेको भन्दै उनले पाँच महिनाको अवधिमा अधिकतम काम गर्न प्रयास गरिएको दावी गरे । उनले साउन लाग्ने वित्तिकै विकासको लहर चलाउने बताए । सरकारको मात्रै मुख ताक्नु भन्दा पनि प्रत्येक नागरिकले आफ्नो क्षेत्रबाट पनि देश विकासका लागि भुमिका खेल्न उनले आग्रह गरे ।
यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको सुधारबाट मात्रै देशमा निरोगीहरु बढ्ने बताए ।
नेपाल नेत्र ज्योती संघ चितवन शाखाका कार्यवाहक अध्यक्ष कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा साँसद कृष्णभक्त पोखरेल, प्रदेश सभा साँसद विजय सुवेदी, घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।