पक्राउ परेका कार्यकर्ता रिहाई गर्न क्रान्तिकारीको माग
चितवन , ११ असार । नेपाल कम्युनिस्ट पार्टी चितवनले पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई तत्काल रिहाइ गर्न चितवन प्रशासन समक्ष माग गरेको छ । नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसी र सेक्रेटरी धुर्वले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुुुन् । उनीहरुले कथित लोकतान्त्रिक गणतन्त्रको नाममा राज्य र संसदवादी दलहरुले लुटतन्त्र, कमिशनखोर भ्रष्टाचारको पक्षपोषण गरिरहेको आरोप समेत लगाए । दैनिक उपभोग्य बस्तुमा भएको आकाशिदो महंगी र कालोबजारी, स्थानीय निकायले गरेको कर वृद्धि , आस्थाका आधारमा सरकार र दलहरुले गर्ने भेदभावको कारण जनताको जीवन कष्टकर बन्दै गएको र सोको बिषयमा आवाज उठाउदा चितवनका प्रहरी प्रशासनले जिल्लामा केही दिन देखि संकटकालको भन्दा पनि पृथक ढंगले दमन धरपकड र आस्थाका आधारले गिरफ्तारी गर्ने काम गरिएको भन्दै उनीहरुले आपत्ति जनाए । मान्छे हिडडुल गर्न पाउने स्वतन्त्रतालाई समेत हनन गरिएको बिसी र धुर्वद्वारा जारी हस्ताक्षर बिज्ञप्तीमा भनिएको छ । बिज्ञप्तीमा भनिएको छ , जेठ २५ गते छोरीको स्कुल फि बुझाउन हिडेका रत्ननगर नगर कमिटीका इन्चार्ज रणदिप गौतमलाई सादा पोशाकमा आएका प्रहरीले झन्डै ६ किलोमिटर मोटरसाइकलमा लखेटेर घाइते बनाइ गिरफ्तार गरिएको छ । जनयुद्धको बेला एक हात गुमाएको अपाङ्गलाई टाउको र खुट्टामा गम्भीर चोट लाग्ने गरेर घाइते बनाएको आरोप बिसीले लगाएको छ । यस्तै, जेठ २६ गते बेलुका भोजाडबाट बाइकमा लखेटेर सिर्जनाचोकमा मोटरसाइकल एक्सीडेन्ड गराएर घाइते बनाइ बिरु तामाङ , २७ गते घरबाट रत्ननगर सेक्रेटरी गन्जुसिंह गुरुङ , असार ४ गते लौरीघोल चोकबाट साइकल मर्मत गर्न लागेका कालिका नगर कमिटी इन्चार्ज रुद्र गुरुङ र असार ५ गते सहिद स्मृती कलेजबाट जिल्ला अध्यक्ष रमेश लामीछानेलाई गिरफ्तार गरी झुठ्ठा मुद्धा लगाएर प्रहरी हिरासतमा राखिएको आरोप उनीहरुको छ । जिल्लामा अनावश्यक गाडी चेकअप गर्ने, कार्यकर्ता खोज्न गौडा नाका कुरेर बस्ने,जिल्ला स्तरको नेताको फोटो लिएर चिनेका छौ कि भन्दै जनतालाई आतंकित पार्ने, सादा पोशाकका प्रहरीलाई मोटरसाइकालमा दौडाउने र नेताकार्यकर्ताको घरपरिवारलाई मानसिक ट्रर्चर दिने काम राज्यको तर्फबाट भइरहेको भन्दै अखिल क्रान्तिकारीले गिरफ्तार गरिएका आफ्ना नेताकार्यकर्तालाई तुरुन्त रिहाइ गर्न र आश्थाका आधारमा गरिने खानतलास, धरकपड, दमन र गिरफ्तारी बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वंय राज्य हुने जिल्ला इन्चार्ज बिसीद्वारा जारी वक्तव्यमा भनिएको छ ।