उद्धारका लागि उद्धार सामग्रीहरु पर्याप्त मात्रामा नभएको सरोकार वालाहरुको ठहर

विपदको उच्च जोखिममा रहेको चितवनमा उद्धारका लागि उद्धार सामग्रीहरु पर्याप्त मात्रामा नभएको सरोकारवालाहरुले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले विपदको बेलामा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीका विषयमा प्रदान गरेको तालिमको समापनमा बोल्दै विपद् व्यवस्थापन तालिमको लागि समेत आवश्यक पूर्वाधारको कमी रहेको उनीहरुले बताएका हुन् । सोमबार नारायणगढमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपमहामन्त्री हरिप्रसाद न्यौपानेले विपद्को समयमा उद्धारको लागि विभिन्न तीन वटा चरणहरु हुने गरेको बताए । रेडक्रसले विभिन्न समयमा आइपरेका विपद्को समयमा उद्धार र राहतको कामलाई महत्वपूर्ण रुपमा अगाडि बढाएको भन्दै मानवीय कामबाट रेडक्रस कहिल्यै पछाडि नहट्ने न्यौपानेको भनाइ थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले विपद्को समयमा सबैले चनाखो भएर उद्धारमा खटिनुपर्ने बताए । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले विपद् व्यवस्थापन तालिम केन्द्रमा नै तालिम लिनको लागि आवश्यक उपकरण नभएको उल्लेख गरे । विपद व्यवस्थापन जस्तो संवेदनशील क्षेत्रका बारेमा सबैले सोच्नुपर्ने खतिवडाको भनाइ थियो । जिल्लाका विभिन्न क्षेत्रका २८ जना व्यक्तिहरुलाई सैद्धान्तिक र व्यवहारिक विषयमा उद्धार सम्बन्धी तालिम प्रदान गरिएको थियो । सहभागीहरुले सात दिने तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्ने जनाउँदै अझै विशिष्ठ खालको तालिमको खाँचो रहेको औँल्याएका थिए । यसैबीच, उक्त कार्यक्रम मार्फत वडा प्रहरी कार्यालय नारायणगढलाई विपद् व्यवस्थापनको लागि लाइफ ज्याकेट तथा डोरी प्रदान गरिएको छ भने जिल्ला आपतकालिन सञ्चालन केन्द्रलाई एक थान प्रिन्टर प्रदान गरिएको छ ।