चितवनमा अबैध ढुंगा गिट्टी उत्खनन् बढदैं
सरोकारवाला निकाय तै चुप मैं चुपको अवस्थामा
फाईल फोटो:
चितवन÷ जिल्लाका नदि तथा खोलाहरुमा केही महिनायता अबैध, गैरकानुनी र मनलाग्दी उत्खनन् बढीरहेको पाईएको छ । यसरी अनियमित र मनलाग्दी तबरबाट प्राकृतिक श्रोतको दोहन भईरहेपनि सम्बन्धित सरोकारवाला निकायहरु भने मुकदर्शक भई बसिरहेका छन् । सरोकारवाला निकायहरुले अनुगमन र नियमनलाई प्रभावकारी बनाउन नसक्दा करोडौं मुल्य बराबरको नदिजन्य पदार्थको अबैध उत्खनन् र तस्करी बढेको हो ।
बातबरणीय परिक्षण प्रतिवेदन तयार नगरी नदी तथा खोलामा स्काभेटर जस्ता मेशिन प्रयोग गरेर उत्खनन् गर्न प्रतिवन्ध लगाइएको भएपनि अबैंध साँठगाठ गरी ठेकेदाररुले दर्जनौं स्काभेटर नदि तथा खोला भित्रै राखेर ढुंगागिटी निकाली रहेका छन् । जिल्लामा जिससले केही खोलामा ठेक्का लगाएपनि त्यस्को समेत नियमन नहुँदा ठेकेदारपक्षले मनलाग्दी उत्खनन् गरेका हुन् । ठेक्का लागेका खोलाहरुमा समेत मापदण्ड विपरित भनेको भन्दा दशौगुणा बढी उत्खनन् भईरहेको पाईएको छ । तर, नियमक निकायले प्राकृतिक स्रोतसाधनको यस्ता अवैध उत्खनन् कार्यलाई रोक्न सकेको छैन ।
यसरी जिल्लामा अबैध र मनलाग्दी उत्खनन् भईरहेको भएपनि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले त्यति तत्परता देखाएको देखिदैन् । जिल्लाका पुर्बि चितवनका खोलाहरु खगेरी, कयर,पम्फा,लोथर र राप्तीको साथै नारायणी नदिबाट समेत अबैध उत्खनन् भईरहेको भएपनि प्रहरी प्रशासन तमासे बस्नुले कतैं यि सबै अबैध उत्खनन् र तस्करी मिलेमतोमै सञ्चालित त् भएका होईनन् भन्ने गम्भिर आशंका पैदा भएको छ ।
स्मरण रहोस अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् गर्दै गर्दा गत् ०७४ फागुणमा २५ वटा ट्याक्टर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । जिल्लाको कयर खोलाबाट जिसस चितवनबाट स्वीकृत नभएको ठाउँबाट चोरी निकासी गर्दै गैरकानुनी रुपमा चोरी निकासी गरि बालुवा, गिट्टी उत्खन्न तथा ओसार पसार गर्दै आईरहेको अवस्थामा प्रहरीले २५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको थियो । रत्ननगर नगरपालिकाका मेयर नारायण बनको नेतृत्वमा गएकोे टोलीले नियन्त्रणमा लिईएको ति ट्याक्टरहरु मध्य ११ वटा वटा ट्याक्टर गायव भएका थिए । इलाका प्रहरी कार्यालय रत्ननगरबाट जिल्ला समन्वय समितिको कार्यालय भरतपुर लैजाने क्रममा बाटोबाटै ११ वटा ट्याक्टर भागेको घटनाले तस्करहरुले कसरी नियम कानुन मिच्ने र नियामक निकायलाई सजिलै छल्दा रहेछन् भन्ने गतिलो उदाहरण हो यो ।
त्यस्तैं, अबैध उत्खनन् र ओसार पोसारमा नक्कली रसिदको समेत प्रयोग हुने गरेको पाईएको छ । सोही स्थानमा त्यतिखेर कालिका नगरपालिका वडा नंं.६ मा रहेको कन्चन निर्माण सेवाले नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको पाईएको थियो । जिल्ला समन्वय समितिको नक्कली रसिद काटेर ढुंगा गिट्टी बेचिएको घटना गैरकानुनी काम हो तर कन्चन निर्माण सेवालाई के कार्बाही गरियो भन्ने अझसम्म सार्बजनिक नहुनुले नियामक निकायको अनुगमन समेत देखावटी र कम्जोर देखिन्छ । कञ्चन निर्माणले मात्र होईन अन्य ठेकेदारहरुले पनि अबैधर अनियमित तबरबाट उत्खनन् गरिरहेका छन् यसतर्फ नियामक निकायको ध्यान नपुगेको देखिन्छ ।
यसरी जिल्लाका नदी तथा खोलाहरुबाट मापदण्ड विपरीत अवैध रुपमा ढुंगा, गिट्टी,वालुवा उत्खनन् तथा निकासी गर्दै प्राकृतिक स्रोतको मनलाग्दी रुपमा दोहन भईरहेपनि सरोकारवाला निकाय किन तै चुप मैं चुपको अवस्थामा छन् बुझिनसक्नु छ । अबैध तथा गैरकानुनी रुपमा भईरहेको प्राकृतीक श्रोतमाथिको दोहन र मनलाग्दी उत्खनन् रोक्न सरोकारवाला एंव नियमनकारी निकायहरु किन असफल सर्बसाधरण जान्न चाहन्छन् ।
बुधबारको भण्डाफोर अभियान साप्ताहिकबाट