स्थापना दिवसमा अखिल र युवासंघको रक्तदान
चितवन,जेठ १
अनेरास्ववियु र युवासंघको स्थापना दिवसको अवसर पारेर भरतपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनेरास्ववियुको ५४ औं र युवा संघको २८ औं स्थापना दिवसको अवसर पारेर जिल्ला शाखाले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अबका दिनमा युवा विद्यार्थीहरु सामाजिक काममा लाग्नुपर्ने बताए । उनले अधिकार प्राप्त गर्ने आन्दोलनको युग सकिएकाले समाज रुपमान्तरणको अभियानमा लाग्न युवा,विद्यार्थीलाई आग्रह गरे ।
उक्त कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेको अनेरास्ववियु चितवनका सचिव प्रकाश आचार्यले जानकारी दिए । “उनले भने– दुवै संगठनको स्थापना दिवसको अवसर पारेर ‘ब्लड बैंकमा रगत अभावलाई मध्यनजर गर्दे रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।” रगतको अभाव कम गर्न र मानवताको नाताले अरुको ज्यान बचाउन कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए । विद्यार्थी र युवाहरुले उत्साहका साथ रक्तदान गरेको आचार्यको भनाई छ ।
रक्तदान कार्यक्रममा एमाले चितवनका कार्यवाहक अध्यक्ष तथा विद्यार्थी इन्चार्ज तेजेन्द्र खड्का,अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकास भट्ट, युवासंघका केन्द्रिय सदस्य खेमराज भट्टराई, युवा संघ लेखा आयोग सदस्य क्रृषिकेश रेग्मी,शुसिल केसी लगायतको उपस्थिति रहेको थियो । रक्तदान गर्नेलाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको छ ।