बिप्लव माओवादीद्वारा आइतबार नेपाल बन्दको घोषणा
चितवन , २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि आइतबार नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् ।
विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।’
यस्तै मोदीको भ्रमण र केपी ओली नेतृत्वको सरकारको मोदीका सामु परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भईराखेका छन् । जनताको स्तर र केही संघसंगठनले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ, महासचिव विप्लवको जारी हस्तताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ ।