नेकपा एमाले र माओवादी एकता : बराबरीमै कुरा मिलेन
पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन। प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन। पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेको छैन।
ओली र प्रचण्डबीच समान हैसियतमा पार्टी एकता गर्ने विषयमा सहमति जुट्न सकेको छैन। माओवादीले समान हैसियतमा एकता हुनुपर्ने अडान राखेको छ भने एमालेले समान हैसियतमा होइन, पार्टीको हैसियतअनुसार एकता गर्नुपर्ने अडान राख्दै आएको छ। पार्टी एकताका लागि सहमति निर्माणमा जुटेका ओली र प्रचण्डबीचबीच केही दिनयता सम्बन्धमा चिसोपन आएको छ।
सरकार सञ्चालनको विषयमा प्रधानमन्त्री एकलौटीरूपमा अगाडि बढेको भन्दै माओवादीले असन्तुष्टि जनाउँदै आएको छ। सचिवहरूको सरुवा, ओलीको भारत भ्रमण र बजेटको विषयमा समेत एकतर्फीरूपमा ओली अगाडि बढेको आरोप माओवादीले लगाएको छ। केही समययता पार्टी एकता र सरकार सञ्चालनमा एमालेले माओवादीसँग पर्याप्त छलफल नगरेर एकलौटी गर्न खोजेको भन्दै सरकार र पाटीभित्रै चर्को असन्तुष्टि देखिन थालेको छ।
पार्टी एकता गर्दा समान हैंसियत र न्यायसंगत ढंगले हुनुपर्ने माओवादीको प्रस्तावलाई एमालेले बेवास्ता गरेको तथा सरकारले गर्ने महत्त्वपूर्ण निर्णयमा समेत सत्तारुढ दल माओवादी र विभागीय मन्त्रीहरूलाई समेत थाहा नदिने गरेको माओवादीका नेता मणि थापाले बताउनुभयो। आजको नेपाल समाचारपत्रमा खबर छ ।