रक्सी कम्पनीको नाममा एयरपोर्टमा लुट मच्चाउँदै श्रेष्ठ, डलर र सुनको कारोबारमा संलग्न

काठमाडौं, २७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको साढे ३३ केजी सुन काण्डले मुलुकभर हंगामा मच्चाइरहेका बेला विमानस्थलभित्र व्यापारीको समूहले कर्मचारीहरुसँग मिलेर अवैध कारोबार गरिरहेको खुलासा भएको छ ।

एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवत्ता रहेका प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा व्यापारी सुवास श्रेष्ठले विमानस्थलको आगमन कक्षभित्र कानुन विपरित रक्सीको बोर्ड राखेर विज्ञापन गरिरहेका छन् । यात्रुहरुलाई हिड्नै अप्ठेरो हुने गरी श्रेष्ठले विमानस्थलभित्र सम्झौता विपरित यसरी गैरकानुनी रुपमा रक्सीको बोर्ड राखेर विज्ञापन गर्दा समेत उनीमाथि कुनै कार्वाही हुन सकेको छैन ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले विमानस्थलका महाप्रवन्धक राजकुमार श्रेत्रीलाई रक्सीको विज्ञापनको बोर्ड हटाउन निर्देशन दिंदा पनि हटाइएको छैन । महाप्रवन्धक क्षेत्री र प्रवक्ता ठाकुरको मिलेमतोमा श्रेष्ठले विमानस्थलभित्र विभिन्न कम्पनीको विज्ञापनको बोर्ड राखेर कमाउँदै आएका छन् ।

श्रेष्ठले विमानस्थलसँग प्रति स्क्वायर मिटर दुई हजार पाँच सय रुपैयाँमा सम्झौता गरी विज्ञापन गर्ने कम्पनीहरुसँग भने स्क्वायर फिटकै दुई हजार पाँच सय असुलेर लुट धन्दा मच्चाउँदै आएका छन् । त्यस वापत उनले क्षेत्री र ठाकुरलाई मोटो कमिसन दिएका कारण मन्त्रीले आदेश दिंदा पनि रक्सीको बोर्ड राखिएको विज्ञापन हटाइएको छैन ।

विमानस्थलभित्र श्रेष्ठले सञ्चालन गरेको कान्तिपुर क्याफे बाहिर पार्किङमा राखिएका विज्ञापनका बोर्ड हटाउनु भनि तत्कालिन महाप्रवन्धक देवानन्द उपाध्यायले २०७४ बैशाखमा पत्र काटेर निर्देशन दिएका थिए । तर, ति बोर्डहरु अहिलेसम्म पनि हटाइएको छैन । कतिसम्म भने कान्तिपुर क्याफेमा रहेको स्टोरबाटै श्रेष्ठले सुन र डलरको अवैध कारोबार गर्दै आइरहेका छन् । क्याफेको माथिल्लो तल्लामा रहेको उनको कार्यालयमा अनुमति बिना कोही पनि छिर्न सक्दैनन् ।

त्यस्तै, विमानस्थल टर्मिनल भित्र यात्रु प्रस्थान तर्फको स्टेराइलकक्षमा सञ्चालन भइरहेको कफि सपबाट सम्झौता विपरितका सामानहरु विक्री वितरण भइरहेका छन् । क्षेत्री र ठाकुरको ध्यान त्यतातिर पुग्न नसक्नु पनि कमिसनकै खेल रहेको बुभिएको छ । प्रस्थान कक्षतर्फको अध्यागमनभित्र कफी शप, विभिन्न पसल र रेस्टुरेन्टहरु श्रेष्ठ आफैले सञ्चालन गर्दै आएका छन् ।

त्यहाँको व्यापारबाट संकलन हुने विदेशी मुद्रा जहाजमार्फत सिधै दुबई, कतारलगायतका खाडी मुलुकमा पठाउने र सोही मुद्राबाट सुन खरिद गरिदै आएको पनि स्रोतको दावी छ ।

विमानबाट आउने फोहोर व्यवस्थापनको समेत जिम्मेवारी लिएका श्रेष्ठले फोहोरमै राखेर सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोको गेटमार्फत सुन पास गराउने गरेको सूचनासमेत गृह मन्त्रालयको विशेष अनुसन्धान टोलीले पत्ता लगाईसकेको छ । जसका कारण पनि विमानस्थलबाट हुने डलर तस्करी र हुण्डीको कारोबारमा श्रेष्ठको संलग्नता रहेको खुलेपछि श्रेष्ठलाई पक्राउ गरी कारबाही गर्ने तयारीमा समिति पुगेको गृह मन्त्रालय स्रोत बताउँछ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।